कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। बेलौरीमा एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेको प्रहरीले बताएको छ। किशोरी र परिवारजनको जाहेरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।
पक्राउ पर्नेमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले बताए। किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरू सहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक पटक जबरजस्ती करणी गरेको किशोरीले बताएकी छिन् ।


