कैलाली। मंसिर ४ को निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भएको छ। सुदूरपश्चिमको बाजुरामा केही बिवादका कारण ढिलो गरि भएको निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत परिणामको नतिजा सार्वजनिक भैसकेको छ। सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र रहेका छन्।
जसमध्ये सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फको मत परिणाम अनुसार कांग्रेसले सबैभन्दा धेरै १२ सीट जितेको छ। त्यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्र नागरिक उन्मुक्ति पार्टी ५ क्षेत्रमा विजयी भएको छ । त्यस्तै, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३/३ क्षेत्र तथा स्वतन्त्र १ जना उम्मेदवार जितेका छन्। प्रत्यक्षतर्फको परिणामलाई मात्रै आधार मान्दा सुदूरपश्चिम कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नागरिक उन्मुक्ति पार्टी तेस्रो दल बनेका छन् । एमाले र नेकपा एस चोथौं दलका रूपमा स्थापित भएका छन्। तर, समानुपातिक मतलाई समेत आधार मान्दा यहाँको शक्ति सन्तुलन हेरफेर हुनेछ ।
यद्धपी बाजुराबाहेकको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ।समानुपातिकमा बाजुराबाहेकको मत गणनाअनुसार एमाले सबैभन्दा अघि रहेको छ। २ लाख ४८ हजार ८४० मतसहित एमाले अघि हुँदा २ लाख ४३ हजार ३९ मतसहित कांग्रेस दोस्रो स्थानमा छ। यहाँ माओवादी केन्द्रको १ लाख १८ हजार ९०३, नागरिक उन्मुक्तिको ९८ हजार ५५४, राप्रपाको ४३ हजार ८०८ र एकीकृत समाजवादीको ४१ हजार ८३९ मत छ ।
यो मत परिणामअनुसार समानुपातिकतर्फ एमाले र कांग्रेसले समान ७/७ सांसद पाउनेछन्। त्यस्तै माओवादी केन्द्रले ३, नागरिक उन्मुक्तिले २, र एकीकृत समाजवादी तथा राप्रपाले १/१ समानुपातिक सांसद पाउने देखिएको छ ।समानुपातिक र प्रत्यक्ष तर्फबाट १९ प्रदेश सांसदसहित कांग्रेस पहिलो दल बन्नेछ। माओवादी ११ सांसदसहित दोस्रो र एमाले १० सांसदसहित तेस्रो शक्ति बन्नेछन्। यहाँ नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति हुनेछ। उसका ७ जना सांसद हुनेछन् । नेकपा एकीकृत समाजवादी ४ सांसदसहित पाँचौं र राप्रपा १ सांसदसहित छैटौं दल बन्ने भएको छ।नेपाल प्रेसबाट

