धनगढी। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा एक जना महिला मात्रै निर्वाचित भएकी छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सुदूरपश्चिमबाट ११ जना महिला उम्मेदवार रहेका मध्ये एक जनाले मात्रै संसदीय यात्रा तय गरेकी हुन् । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी हुन्।
उम्मेदवार भएका अन्य सबै महिला नेत्री पराजित भएका छन्। प्रदेशभरिबाट जम्मा १३७ जनाको उम्मेदवारी परेको थियो। जसमध्ये ११ जना उम्मेदवार महिला ८ प्रतिशत थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीले कैलाली–१ बाट विजयी भएकी छिन्। विजयी चौधरीले ३० हजार ४०४ मत प्राप्त गरेकी थइन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरी १८ हजार ८१ मत पाएर पराजित भए । निर्वाचनका लागि नेकपा एमाले, माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका थिए।
यसैगरी केही महिला स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका थिए। तर पूर्वमन्त्रीदेखि लिएर चर्चित नेत्रीहरूको पराजय भएका छन्। । एक महिला नेत्रीले भारी मतान्तरले जित हात पार्दा अरू महिला नेत्रीहरुले पराजय भोगेका छन्। निर्वाचन आयोगका अनुसार कैलालीबाट ३ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। एक महिला नेत्रीको शानदार जित हुँदा दुई महिलाको हार भएको छ। क्षेत्र नं ३ बाट चुनावी प्रतिस्पर्धा गरेकी नेपाल मजदुर किसान पार्टीका गङ्गादेवी पौडेलले १६१ मत प्राप्त गरेर पराजय भोग्नुपर्यो। यस्तै सोही पार्टीबाटै कैलाली–५ मा चुनावी प्रतिस्पर्धा गर्नुभएकी नन्दाकुमारी दर्लामी मगर (राना) ले ४२ मत मात्रै प्राप्त गरीन्।
उनले अन्तिममा अवस्थामा पराजयको चित्त बुझाउनुपरेको छ। यो प्रदेशमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले महिलालाई टिकट दिएका थिएनन्। यसैगरी कैलाली–२, ४ सहित अछाम, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुलामा पुरुष मात्रै उम्मेदवार रहेका थिए। यस्तै मतगणना बाँकी रहेको बाजुरामा पनि प्रतिनिधि सभा सदस्यका लागि पुरुष मात्रै उम्मेदवार रहेका छन् ।यस्तै प्रदेश सभामा पनि मुख्य नेकपा (एमाले)का कमला ओली पराजित भइन्। उनी कैलाली क्षेत्र नं २ (क)बाट पराजित भएकी उनले तेस्रोमा चित्त बुझाउनु परेको छ। पूर्वमन्त्रीसमेत रहेकी नेकपा माओवादी केन्द्रका नेत्री बिना मगर कञ्चनपुर–१ मा नेकपा एमालेका तारा लामा तामाङसँग पाँच हजार ५४३ मतान्तरले पराजित भइन् ।
बिजयी एमालेका तारा लामा तामाङले २४ हजार ९४३ मत पाएकोमा मगरले १९ हजार ४ ०० मत प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझाईन् । कञ्चनपुर–३ मै अर्का चर्चित महिला नेत्री एवं निवर्तमान सांसद निरुदेवी पाल पराजित भएकी छिन्। नेकपा एमालेकी पालले १८ हजार ४८५ मत पाउँदा पराजित भइन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले ३० हजार ५७५ मत पाए बिजयी भए । कञ्चनपुरमा निर्वाचन क्षेत्र नं. १ मा तीन र २ मा चार गरेर ७ जना महिलाले प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गरेका थिए। १ मा पराजित नेपाल मजदुर किसान पार्टीका नन्दादेवी जोशीले ९५ र स्वतन्त्र हरिनादेवी भट्टले ६७ मत प्राप्त गरेका छन् । त्यस्तै कञ्चनपुर–२ मा स्वतन्त्रबाट चुनाव लड्नु भएकी अधिकारकर्मी शारदादेवी चन्दले ७४१, जनमत पार्टीका सुशीलादेवी विष्टले १३१ र नेपाल मजदुर किसान पार्टीका जानकीदेवी गिरीले १०६ मत पाएर पराजित बेहोरेका छन् । डोटीमा नेकपा एमालेका नेत्री गौरी ओली चार हजार २०६ मतान्तरले नेकपा एकीकृत समाजवादी नेता एवं पूर्वमन्त्री आलेसँग पराजित भइन्। ओलीले २३ हजार ४ मत पाइन्। विजयी आलेले भने २७ हजार २१० मत प्राप्त गरेका छन् ।