कैलाली। कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका ७ जना उम्मेदवारको जमानत जफत भएको छ। प्रतिनिधि सभामा उम्मेदवार बनेका १० मध्ये ७ उम्मेदवारको जमानत जफत भएको हो। कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका ६ जना (पार्टी)दलका उम्मेदवार र १ जना स्वतन्त्र उम्मेदवार गरी ७ जना उम्मेदवारको जमानत जफत भएको हो।
जमानत जफत हुनेमा २ हजार २२१ मत पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द प्रसाद भट्ट, १ हजार ४६५ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका जय बहादुर धामी, १९९ मत पाएका मौलिक जरोकिलो पार्टीका चेतराज साउँद छन् । यस्तै १२६ मत पाएका स्वतन्त्र उम्मेदवार मेखराज जोशी, ६२ मत पाएका नेपाल मजदुर किसान पार्टीका सिताराम पण्डित र ६१ मत पाएका नेपाल संघिय समाजवादी पार्टीका भिम बहादुर थापा मगर र ४८ मत पाएका जनता प्रगतिशिल पार्टीका मोहनदेव मिश्र रहेका छन। निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार वीर बहादुर बलायरले ४४ प्रतिशत, उनका प्रतिस्पर्धी एमालेका लेखराज भट्टले ३६ प्रतिशत र नागरिक उन्मुक्ति पार्टीले साढे १० प्रतिशत मत पाएका छन । कैलाली क्षेत्र नम्बर ४ मा कुल ६३ हजार ३८६ मत खसेकोमा ५९ हजार २३३ मत सदर भएको थियो ।


