कञ्चनपुर। कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । कञ्चनपुर भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित आइतबार दिउँसो भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको हो।
बाघको आक्रमणबाट उनको नाक र निधारमा चोटपटक लागेको छ। सँगै भएका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले जानकारी दिएका छन्। घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।


