धनगढी । नेकपा एमालेका जिल्ला कमिटि सदस्य उमेश कुमार गिरीले पदबाट राजीनामा दिएका छन् । पार्टीभित्र मौलाउँदै आएको अवसरबाद, नाताबाद अनि नोकरशाही प्रवृतिले पार्टी विधि र सिद्धान्त विस्खलित हुँदै आएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टीबाट प्राप्त हुने अवसरलाई आफ्नो परिवारभित्र मात्र सिमित राख्नेजस्ता अवसरवादी प्रवृति मौलाउँदै गएको भन्दै पदबाट राजीनामा दिएको जानकारी गराए ।

उनले २०५२ सालदेखि कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटीको सदस्य हुँदै अनेरास्ववियूबाट आफ्नो राजनितीक यात्रा प्रारम्भ गरेको थिए । नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी सदस्य हुँदै २०६४ सालमा तत्कालिन क्षेत्र नं। ३ को पार्टी क्षेत्रीय कमिटी सदस्य र हालै सम्पन्न जिल्ला अधिवेशनबाट सर्वाधिक मत ल्याई पार्टीको जिल्ला कमिटी सदस्य भएका थिए ।
‘कैलाली क्षेत्र नं। ५ लगायत कैलाली जिल्लामा २०७९ मा सम्पन्न स्थानिय निकायको निर्वाचन होस् वा अहिले हुन गइरहेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन होस, उम्मेदवार छनोट गर्दा आफ्नो व्यक्तिगत पेवा बनाई पैसा र पावरका आधारमा पार्टीको नितीविधि विपरित जिल्ला नेतृत्व अघि बढेको पाइयो’ उनको विज्ञप्तीमा भनिएको छ– ‘पार्टीका असन्तुष्ट, ईमानदार कार्यकर्तालाई व्यवस्थापनको साटो धाकधम्कीका आधारमा गुलाम बनाउने जुन मनोवृति पाइयो त्यो निन्दनीय र खेदजन्य रहेकोछ ।
यस प्रकार पार्टी विधि सिद्धान्त भन्दा जातीयता, क्षेत्रीयता अनि परिवारबादमा लत्पतियकाले यसप्रति असहमति जनाउँदै आजको मितिबाट नेपाल कम्युनिष्ट पार्टी ९ एमाले० को कैलाली जिल्ला सदस्यको जिम्मेवारी सहित पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्दछ ।’ उनले स्वतन्त्र व्यक्तिका रुपमा राष्ट्र, राष्ट्रियता अनि समाज परिवर्तनका निम्ति दृद्ध भई उभिने संकल्प गरे ।


