कैलाली। मंसिर ४ गते हुने आसन्न प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन नजिकिदै छ। निर्वाचन नजिकिएसँगै प्रतिस्पर्धी बिच निकै चुनावी टक्कर पर्ने देखीएको छ। यति बेला प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धी बिच टक्कर पर्ने देखीएको हो। जनयुद्धका दुई सहयात्री सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी (कुन्दन) र निवर्तमान सांसद तथा नेकपा एमालेका तर्फबाट गौरीशंकर चौधरी आपसी प्रतिस्पर्धामा छन्।
गौरीशंकर यसअघि नेकपा माओवादी केन्द्रमै थिए। यस्तै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी उम्मेदवार बनेका छन्। त्यसकारण दुई पूर्वसहयोद्धासामु नागरिक उन्मुक्ति पार्टीका चौधरीले चुनौती दिएका छन्। त्यसैले यसपटकको चुनावमा मुख्य उनीहरुबीच चुनावी प्रतिस्पर्धा हुने देखीएको छ । यस्तै कैलाली ३ मा राप्रपाका वीरेन्द्रबहादुर बम, नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल र नेकपा (माक्र्सवादी लेनिनवादी) का परेकबहादुर रावल,स्वतन्त्र उम्मेदवार नवीनकुमार बोहरा र रमेश आचार्य उम्मेदवार छन्।
यिनिहरु पनी प्रतिनिधि सभा निर्वाचनको दौडमा छन्। कैलाली क्षेत्र नं. ३ मा थारु समुदायको बाहुल्यता छ। विगतमा माओवादीमा सक्रिय नेताद्वय गौरीशंकर र कृष्णकुमार विगतमा पाएको मत सुरक्षित गर्दै जितको खोजीमा छन्। गठबन्धनको पूर्ण मत पाए कृष्णकुमारको जित निश्चित रहेको एक नेताले बताए । तर यो सम्भावना कम रहेको बताउँदै उनले ‘गौरीशंकर विगतमा माओवादीमा हुनाले माओवादीको मत काट्न सक्ने बताए। दुवैको नेताको भोट थारु समुदाय बाट आउने उनले भने । विगतमा अवसर दिँदा काम गर्न नसकेको गुनासो जनताको गुनासो रहेको उनले बताए । त्यस्तो अवस्थामा थारु समुदायकै प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टीका गंगारामले पनि उल्लेख्य मत ल्याउने आकलन उनले गरेका छन् ।
गंगारामले दिए गौरीशंकरलाई चुनौती
नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले नेकपा एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार रहेका गौरीशंकर चौधरीलाई चुनौती दिएका छन्। हुन त गौरीशंकरलाई यस पटकको निर्वाचन चुनौती देखीएको छ। गौरीशंकर चौधरी ०७४ को चुनावमा एमालेको समर्थनमा माओवादीबाट चुनाव जितेका थिए ।०७० सालको चुनावमा उनी साविक क्षेत्र नं.४ मा विजयी भएका थिए।उनले ०७४ मा कांग्रेस नेता रामजनम चौधरीलाई हराएका थिए ।०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले सानदार जित हात पारे। ०६४ सालमा भने चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासदमा चुनिए। ०७० सालमा कैलाली क्षेत्र नम्बर ३ बाट दोस्रो संविधान सभाको चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट चुनाव जितेका थिए। गौरीशंकर चौधरीले ०७४ को निर्वाचनमा २४ हजार ८७९ मत ल्याएका थिए भने रामजनमले २० हजार ४९४ मत ल्याई भूमिसुधार र स्वास्थ्य गरी दुई पटक मन्त्री बनेका रामजनमको संसद् यात्रा रोकेका थिए ।तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गौरीशंकरले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाले। तत्कालीन नेकपा खारेजीपछि उनी एमालेमा समाहित भएका थिए। गौरीशंकरले विगत पाँच वर्षमा कृषिमा थुप्रै काम भएका एमालेका एक नेता बताए । प्रधानमन्त्री कृषि परियोजनासँगै किसानको समस्या समाधान भएको बताए। उनले कैलाली ३ का नदीहरूमा पुल, बाटोहरू पिच भएको बताउँदै जनता फेरि गौरीशंकरलाई जितााउन चाहेको बताए ।
के होला कृष्ण कुमार चौधरीको अवस्था ?
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार चौधरी ०६४ सालमा तत्कालीन कैलाली क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। उनी १५ वर्षपछि संसद् पस्ने दाउका साथ चुनावमा होमिएका छन्। ०७० सालमा पनि उनले माओवादी केन्द्रबाट टिकट पाउने चर्चा थियो । तर अन्तिममा गौरीशंकरले टिकट पाएर चुनाव पनि जिते। कृष्णकुमार ०४७ सालदेखि राजनीतिमा सक्रिय भएका हुन। एमाले निकट अनेरास्ववियु पाँचौँको साधारण सदस्यका रुपमा उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनी माओवादी शान्ति प्रक्रियामा गएसँगै ०६४ को पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसका नारायणदत्त मिश्रलाई उछिन्दै संसद् यात्रा तय गरेका थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्तिमा उनी सामेल भएका थिए। नयाँ शक्तिबाटै ०७४ को निर्वाचनमा कैलाली ३ ९२० मा चुनाव लडेपनी सफल हुन सकेनन्। नयाँ शक्ति, जसपा हुँदै फेरि माओवादी केन्द्रमै फर्किएका थिए। गौरीशंकरले जितेर गएपछि आफ्नो क्षेत्रका लागि काम गर्न नसकेकोले विकासका लागि कृष्णकुमारले जित्ने गठबन्धनका नेताहरुले बताएका छन् । यो क्षेत्रमा गठबन्धन बलियो रहेकाले ‘प्रतिनिधि र प्रदेश सभामा वाम लोकतान्त्रिक गठबन्धनले चुनाव सहजै जित्ने बताएका छन् ।
निर्वाचनमा नागरिक उन्मुक्तिलाई कतीको छ सहज ?
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीलाई पनि मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ। स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले बलियो उपस्थिति देखाएको थियो । गंगाराम चौधरी ०७४ को निर्वाचनअघि कांग्रेसमा आवद्ध थिए। ०७४ को निर्वाचनमा तत्कालीन राजपामा प्रवेश गरेका थिए। अहिले उनी रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य छन्। स्थानीय तह निर्वाचनमा कैलालीमा नागरिक उन्मुक्ति पार्टीले राम्रो नतिजा ल्याएकोले संसदीय चुनावको नतिजा पनि आफ्नो पोल्टामा पर्ने उनको दाबी छ। हामी न्यायको लागि चुनावमा होमिएका ले जनताले राम्रोसँग बुझेको उनले बताए । राज्यले न्याय नगरे पनि आमजनताले न्याय गर्नेमा विश्वस्त रहेको उनको भनाई छ । कैलाली क्षेत्र नम्बर ३ घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकाको वडा नं। १, २, ३, ४, ५, ७ र ८ मा पर्छन्। स्थानीय तहको मतपरिणाम अनुसार सत्तारुढ गठबन्धन बलियो देखिएको छ । स्थानीय तह निर्वाचनमा कुल २६ वटा वडामध्ये कांग्रेसले १९, माओवादी केन्द्र ३, नेकपा एमाले २ र नागरिक उन्मुक्तिले २ वडा जितेको छ। स्थानीय तह निर्वाचनमा कैलारीमा कांग्रेस, भजनीमा नागरिक उन्मुक्ति र घोडाघोडीमा एकीकृत समाजवादीले मेयर जितेको छ। आसन्न मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धी बिच चुनावी टक्कर पर्ने देखीएको हो ।


