धनगढी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउने भएका छन्। राष्ट्रव्यापी चुनावी प्रचारप्रसार एक साताअघि सुदूरपश्चिमबाट सुरु गरेका एमाले अध्यक्ष पुनः शनिबार सुदूरपश्चिम आउँदै छन्।
अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । एमाले अध्यक्ष ओलीले आज डोटीको दिपायल, गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने बताइएको छ।
बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेर २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्की चुहाँको लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने एमालेका प्रदेश सचिव पाठकले जानकारी दिए। यसअघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभामा सम्बोधन गरेका थिए। भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचारप्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषय उठाइरहेका छन्।


