नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायरले लेखराज भट्टको जस्तो सानोतिनो मन्त्रालय आफूले नखाने घोषणा गरेका छन । बिहिबार गोदावरी नगरपालिका – १ मा चुनावी सभालाई सम्बोधन गर्दैै बलायरले झण्डा मात्रै हल्लाउने मन्त्रालय आफूले नलिने बताएका हुन ।
‘लेखराज भट्ट भएको मन्त्री म हुँदैन । किनकी त्यो मन्त्रालय यहाँका जनतालाई कामै लाग्दैन् । मलाई मात्रै काम लाग्छ । उनलाई त आफूलाई चाहिएको थियो । मलाइ त जनताका लागि चाहिएको छ’ उनले भने ‘जनता संग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएन भने म मन्त्री नै हुँदैन । जे पायो त्यै लिने काम म गर्दैन ।’ उनले जनताले जिताएर पठाएमा माथि मलाई मन्त्री खानबाट रोक्ने कसैको तागत नभएको बताए ।
‘मैले २ बर्ष मात्रै पुर्वाधार मन्त्रालय पाए भने त्यो मन्त्रालयले गर्ने काम यहाँका मानिसहरुको ५० बर्ष सम्म त्यो मन्त्रालयको दैलोमा जानु नपर्ने बनाउने छुु’ उनले भने ‘आफू भएको बेला सबैले गरेकै छन । अरु भएको बेला माग्दा– माग्दा बडा गाह्रो हुन्छ । त्यसैले आफ्नो हात जगन्नाथ गर्ने नै हो । तपाई मलाई साथ दिनुस् ।’
उनले प्रदेशमा प्रकाश बमलाई जिताए उनलाई प्रदेशमा मन्त्री बनाउने जिम्मेवारी पनि आफ्नो भएको बताए ।

