काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वि.सं. २११० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने प्रतिबद्धता गरेको छ। बिहीबार आसन्न निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै रास्वपाले २११० सालसम्म नेपालबाट गरिबी उन्मूलन गर्ने प्रतिबद्धता गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रतिबद्धतापत्रलाई ‘वाचापत्र’ भनेको छ।
त्यस्तै, रास्वपाले आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि प्रतबद्धता गरेको छ । संविधानमा लिपिबद्ध ’समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राखेर २११० सम्म नेपालमा समाजवादको आधार तय गरिने पनि सो पार्टीको वाचा छ । यस्तै बिहीबार आगामी चुनावका लागि (वाचापत्र) सार्वजनिक गर्दै रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हो ।त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ।
त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ। त्यस्तै, रास्वपाले नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने देशमा पर्ने बनाउने पनि प्रतिबद्धता गरेको छ । साथै, सो पार्टीले खेलकुद क्षेत्रमा पनि नेपालले उक्त अवधिमा महत्त्वपूर्ण उपाधि हासिल गरिसकेको हुने परिकल्पना गरेको छ । ‘खेलकुदमा अन्तर्राष्ट्रिय (ओलम्पिक, क्रिकेट ट्वान्टी–२० विश्वकप) पदक हासिल गरिसकेका हुनेछौँ,’ रास्वपाले वाचापत्रमा भनेको छ।




