कैलाली। नेपाली काँग्रेसका नेता सुनिल भण्डारीले आफू पार्टीबाट अलग नहुने बनाएका छन्। आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीले टिकट नदिए पनि आफु पार्टीबाट भने अलग नहुने बताएका हुन् ।अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भण्डारी अहिले पनि सोही क्षेत्रबाट आकाङ्क्षी थिए।
तर, अन्तिम समयमा डोटीबाट निर्वाचन लड्दै आएका कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरलाई टिकट दिएपछि उनी रुष्ट बनेका थिए। पञ्चायतका विरुद्ध र जनताको अधिकारका लागि लडेको मान्छे भएकाले पार्टीले टिकट नदिँदा चित्त दुखेको उनले भने । तर पार्टीबाट भने अलग नहुने बताए। पार्टीबाटै अलग हुने चर्चा भइरहेपनी त्यो निर्णय लिन नसकेको उनले बताए। उनले भने, ‘१५-२० दिन आफैले विश्लेषण गर्दा पार्टी भन्दा बाहिर बस्ने सक्ने अवस्थामा देखिन, ‘त्यो मेरो जिम्मेवारीले दिएन।
तर, नातावाद, हैकमवाद गुटबन्दी विरुद्ध वाकी जीवन समर्पण गर्नुपर्छ, उनले भने। पार्टी भित्रको शुद्धीकरणको लागि कार्यकर्ताहरूसँग रहने उनको भनाई छ । गणेशमान जस्तो अलग भएर बस्न नसक्ने अवस्थामा रहेका भन्दै उनले पार्टीमा लाग्ने विचार गरेको बताए। उनले आगामी दिनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लाग्ने बताए। उनले अघिल्लो पटक बाम गठबन्धन हुँदा आफूले पार्टीको साख बचाएको भन्दै अहिले पार्टीले आफूमाथि अन्याय गरेको समेत प्रस्ट पारे।‘कसैले हिम्मत नगर्दा मैले उम्मेदवारी दिए।
पाँच वर्षको अवधिमा मैले जनमताको अपार समर्थन हुँदा हुँदै पनि मैले टिकट पाउन सकिन’ उनले भने, ‘पार्टी भित्र असहमति राख्ने प्रयास गरे। जसको सिकार हुनपर्यो।’ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समकक्षी रहेका भण्डारीले आफूमाथि पटक पटक अपमानित भएको बताए। ‘पार्टीबाट अलग भएको भए मलाई शान्ति हुन्थ्यो। तर, सबैको सुझावले गर्ला मैले यो निर्णय लिए । यसको विकल्प थिएन’ उनले भने, ‘मैले धेरै अपमान सहे ।’अघिल्लो कैलाली ४ मा लेखराज भट्टसँग भण्डारी १० हजार ३९९ मतले पराजित भएका थिए ।


