काठमाण्डौँ। भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती आयोजनाको सर्भे लाईसेन्स माग गरेको छ । कम्पनीले ७५० मेगावाट क्षमताको आयोजनाको सर्भे लाईसेन्स माग गर्दै मंगलबार लगानी बोर्डका प्रमुख अधिकृत सुशील भट्ट समक्ष आवेदन बुझाएको हो ।
नेपाल सरकारले यस अघि नै ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना र ४५० मेगावाट क्षमताको सेती नदी-६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको छ । एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो ।करिब १ खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको सुदूरपश्चिममा निर्माण हुने पश्चिम सेतीको लागत हाल २ खर्ब पुगेको छ ।
सुरुमा फ्रेन्च कम्पनी सोग्रेच कन्सल्ट्यान्टले १९८०–८१ मा अध्ययन गरेको यो आयोजना निर्माणको लागि जलस्रोत मन्त्रालय र अस्ट्रेलियन कम्पनी स्मेकबीच १९९७ जुन ७ मा परियोजना सम्झौता भएको थियो । तर, वित्तीय व्यवस्थापन गर्न नसकेपछि सन् २०११ मा सम्झौता खारेज भएको थियो । त्यसपछि सन् २०१२ मा चिनियाँ कम्पनी सीटीजीआईसँग सम्झौता भयो । तर वित्तीय रूपमा सम्भावना नभएको भन्दै चिनियाँ कम्पनीले पनि आयोजना छोडिदियो । हिमालयन पावर कन्सल्ट्यान्टले १९८७ मा प्रारम्भिक अध्ययन गरेर ६४२ मेगावाट प्रस्ताव गरेको थियो ।

