कैलाली। कैलालीमा बस्तीनजिक आएको गोहीको उद्धार गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिका ५ सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको सव डिभिजन वन कार्यालय सुखडका प्रमुख विश्वराज पण्डितले बताए । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे चार फिट लामो गोहीको वनका कर्मचारीहरूले उद्धार गरेको सव डिभिजन वन कार्यालय सुखड प्रमुख पण्डितले बताए ।
हामीहरुको नेतृत्वमा गएको टोलीले करिब २० किलो तौल रहेको मगर गोहीको उद्धार गरेर घोडाघोडी ताल क्षेत्रमा छोडेको हो उनले भने। स्थानीयले समयमै वन कर्मचारीलाई खबर गरेपछि कुनै क्षति हुन नपाएको बताइएको छ । बर्खा याममा विशेष गरी मगर गोही, सर्प र अजिङ्गरहरू मानिसको बसोबास भएको क्षेत्रमा आउने गरेका छन्। एक हप्ता अगाडीमात्रै चिसापानी बजारबाट अजिङ्गर उद्धार गरेको हो । वन्यजन्तु उद्धार सम्बन्धी तालिम, उपकरण तथा दक्ष जनशक्ति नहुँदा उद्धारमा समस्या हुने गरेको कर्मचारीहरु बताउँछन् । बर्खा याममा जंगली जनावर विशेष सतकर्ता अपनाउन आग्रह गरिएको छ ।


