धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ऐन संशोधन गरेर प्रदेशसभाका थप पदाधिकारीलाई सुविधा थप्ने तयारी गरेको छ। सरकारले प्रदेशसभाको बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न विद्येयक पेश गरेको हो। आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको १९औं बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा बनेका ऐन २०७५ लाई संशोधन गर्ने प्रस्ताव सभामा पेश गरेका हुन् ।
सभामा छलफल भएपछि पारित भएमा संशोधन विद्येयक कार्यान्वयनमा आउनेछ ।यसअघि सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र विषयगत समितिका सभापतिले मात्र गाडी सुविधा पाउदै आएकोमा अब सरकारले ल्याएको संशोधन विद्येयक पारित भए सत्ता पक्षमा रहेका सबै संसदीय दल र विपक्षी दलको प्रमुख सचेतकले पनि उक्त सुविधा प्राप्त गर्नेछन्।जसअनुसार अब सरकारमा प्रतिनिधित्व गर्ने तीन दल नेकपा ९एकीकृत समाजवादी० पार्टी, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा प्रमुख विपक्षी नेकपा एमालेका प्रमुख सचेतकले चालक सहित गाडी र इन्धनको सुविधा पाउनेछन्।
त्यसरी सेवा दिँदा सेवा सुविधामा प्रदेश सरकारको थप बजेट खर्च हुने छ । प्रदेशसभाका पदाधीकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा संसदीय दलका उप नेता, प्रमुख सचेतक र साना दलका संसदिय दलका नेताले सवारी लगायतका सुविधा पाउने व्यवस्था थिएन। प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा सीमित जनप्रतिनीधिलाई मात्रै सेवा सुविधा दिने व्यवस्था रहेको एमाले संसदीय दलका नेता तथा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए ।
धेरै सदस्यलाई सेवा सुविधा दिनुपर्ने भनेर पहिला पनि दवाद आएको थियो,’ शाहले भने, ‘तर करको दुरुपयोग गर्नुहुँदैन भनेर हामीले त्यतिबेला सम्मानित पदमा रहेका व्यक्तिलाई मात्रै सेवा सुविधा दिने गरी ऐन ल्याएका हौं, अहिले संशोधन विधेकमा सेवाको दायरा बढाउने प्रस्ताव आएको छ, यसले सेवा सुविधामा थप आर्थिक भार बढ्ने उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले यस अघि पनि संसदीय दलका उपनेता लगायत अन्य पदका लागि सेवा सुविधा दिनेगरी निर्देशिका ल्याएको थियो । महालेखा परीक्षकको कार्यालयले निर्देशिका बनाएर सेवा सुविधा दिनु कानून संगत नरहेको भन्दै राजस्वको दोहन नगर्न सुझाव दिएको थियो । महालेखाको राय पछि सरकारले कानून नै बनाएर कार्यकालको अन्तिम समयमा राजस्वको दोहन गर्नेगरी सेवा सुविधा थप गर्न थालेको छ ।


