कञ्चनपुर। कञ्चनपुरमा भारतीय एलआईसी बीमा कम्पनीले नेपालीलाई ठग्दै आएको पाइएको छ । भारतीय जीवन बीमा निगम (एलआईसी)ले १५ वर्षे अवधी बनाई भारतीय बीमा अभिकर्ताबाट बिश्वासकै आधारमा बीमा गरेका नेपालीहरु बीमा निगमबाटै ठगिदै आएको बीमामा आवद्ध रहेकाहरुले बताएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की लक्ष्मी रिमालले एलआईसी बीमा निगमको ठगीमा परेको बताउँँदै आफुले तोकिएको बीमा अवधी पुरा गरि रकम फिर्ता माग्दा बचत रकम भन्दा कमको चेक कम्पनीले दिँदै आएको बताईन्।
उनको भारतीय जिवन बीमा निगम (एलआईसी) मा सन् २००६ जनवरी २८ मा एक लाखको बीमा पोलिसी दर्ता भएको छ । उनले नियमित वर्षेनी भारतको उत्तर प्रदेश स्थित कम्पनीको सम्पर्क कार्यालय सम्पुर्णानगर र कहिले एलआईसीका बीमा अभिकर्ता मार्फतबाट ७ हजार ७ सय ३८ रुपैयाँ बिमा रकम भुक्तानी गर्दै आएकी थिईन।बीमाको १५ वर्षे अवधी पुरा भएपछि आफ्नो बिमांक रकमका लागि कार्यालयमा सम्पर्क गर्दा केहि महिनामा चेक पाएपनी आफ्नो बचत किस्ता भन्दा कम रुपैयाको पाएको भनिन् ।
कम रुपैयाँको चेक पाएपछि बीमा निगमका म्यानेजरसँग बुझ्दा बिमा अभिकर्तासँग बुझ्नुभन्दै पंजाब नेश्नल बैंकको ५६ हजार २ सय ७२ रुपैयाँको चेक हातमा दिएको उनले बताइन् । उनका श्रीमान भद्रकृष्ण रिमालले भने, त्यसपछि सम्पूर्णानगर सम्पर्क शाखा र मिलनबजारका बीमा अभिकर्तालाई किन रकम कम दियो भनि सोध्दा बीमा कम्पनी घाटामा गएकाले भन्ने कारण दिए । कम्पनी घाटामा भए आफुले यो रकम पनि छाडिदिने हैन भने कानुनी प्रक्रियामा जाने कुरा अभिकर्तालाई सुनाएको बताए ।फरक देश भएका कारण आफुले कुनै कानुनी प्रक्रियामा नगएको बताउदैँ अबका दिनमा भारतीय बीमा कम्पनीबाट कसैले पनि बीमा नगर्न उनले अनुरोध गरेका छन् ।यस्तै बिमित कोहलपुर बाँके निवासी प्रेम प्रसाद शर्माको समस्या झन जटिल छ । उनले पनि एक लाखको बिमा भरेको सन् २०१६ मा १५ वर्ष पुरा हुँदा पनि अहिले ६ वर्ष बितिसक्दा सम्म पाउनुपर्ने रकम पाएका छैनन् ।
बीमा अवधी पुरा भएका बिमितले पाउने रकमका विषयमा नेपाल लाईफ ईन्स्युरन्स कम्पनी आईंबी.आर.डी.का शाखा प्रबन्धक नरेश कोईरालालाई बुझ्दा दुबै देशका बीमा कम्पनीको नियम प्रायः एउटै हुने गरेको बताए ।
हाम्रो कम्पनीले अवधी पुरा भएका बिमितलाई २४ घण्टा भित्रै पाउनुपर्ने रकमको चेक दिँदै आएको प्रबन्धक कोईरालाले बताएँदै भारतीय जिवन बीमा निगमले भने नेपालीलाई निकै सास्ती दिँदै आएको सुनिन आएको बताए । उनले आफ्नै मामाको समस्यामा एलआईसीको शाखा कार्यालय सम्पूर्णानगरमा बुझ्न जाँदा नभएकै नियमका कुरा गर्दै बिमाँक रकम पाउन केहि महिना कुर्नुपर्ने भन्दै फर्काउने गरेको कुरा सुनाए । नेपालीलाई बिनाकारण सास्ती दिने काम भारतीय बीमा कम्पनीले गरिरहेको र बीमाका विषयमा राम्रोसँग बुझेर नेपालकै बीमा कम्पनीबाट बीमा गराउन सम्पूर्ण नेपालीलाई उनले आग्रह गरेको बताए ।


