बझाङ। बझाङको जयपृथ्वी नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएको छ । नदीजन्य पदार्थ विनामापदण्ड उत्खनन गर्ने र चोरी निकासी हुने गरेका कारण नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको हो ।
व्यवसायीले विशेषगरी सेती नदी र बाहुली खोलाबाट नदी तथा वातावरणको स्वरुप नै बिग्रने गरी बालुवा ढुंगा संकलन गर्ने गरेको पाइएका कारण रोक लगाइएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए । उनले भने ‘जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्ने प्रवृत्तिका कारण खोलानालाको स्वरुप बिग्रने र त्यसले बाढी–पहिरोलगायत विपत्ति आउनेतर्फ हामी सचेत छौँ । साथै नदीजन्य पदार्थको उत्खनन गरेबापत राजस्वसमेत नगरपालिकालाई नबुझाई चोरी निकासी हुन थालेका कारण नदी जन्य पदार्थको निकासीमा हामीले रोक लगाएका हौँ ।
जयपृथ्वी नगरपालिका क्षेत्रभित्र पर्ने नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन तथा निकासीका लागी उचित मापदण्ड र निर्देशिका बनाएर मात्रै पुनः खोलिन नगरपालिकाले जनाएको छ । साउन १ गतेदेखि लागू हुने गरी असोज मसान्तसम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर जोशीले बताए । उनले भने, ‘नगर प्रमुख चेतराज बजालको निर्देशनमा सेती नदी र बाहुली खोलामा भइरहेको प्राकृतिक स्रोतको दोहन रोक्न सूचना जारी गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि नदीजन्य पदार्थ दोहन रोकिन्छ ।’ सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाउँदै सूचनाको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने जनाएको छ ।

