कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नीति तथा कार्यक्रम र बजेटमा समेत गेटा मेडिकल कलेजका बारेमा कुनै कार्यक्रम समावेश नभएको भन्दै आपत्ति जनाएको छ। प्रदेश सचिव धर्मराज पाठकले एक विज्ञप्ति जारी गर्दै सरकारले गेटा मेडिकल कजेलका बारेमा कुनै सम्बोधन नगरेको बताएका छन्।
‘हालै नेपाल सरकारले ल्याएको आव २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा गेटामा मेडिकल कलेजका बारेमा आवश्यक सम्बोधन नभएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘अविलम्ब उक्त विषयलाई सम्बोधन गर्न तथा आवश्यक जनशक्ति र बजेटको व्यवस्था गर्न हाम्रो पार्टी नेपाल सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ।’
नेकपा एमालेले निर्माणको अन्तिम चरणमा पुगेर पनि सञ्चालन अनिश्चित बनेको गेटा मेडिकल कलेजका विषयमा सरकार गम्भीर नबनेको ठहर गरेको छ। हस्ताक्षरित विज्ञप्तिमार्फत संरचना तयार गरेर पनि सञ्चालनमा जोड नदिनु सरकारको गैर जिम्मेवारपूर्ण काम भएको टिप्पणी गरिएको छ ।‘अन्य प्रदेशमा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु स्थापना भई सेवा प्रदान गरिरहँदा सुदूरपश्चिम प्रदेशमा हालसम्म पनि कुनै महत्त्वपूर्ण स्वाथ्य क्षेत्रको जनशक्ति उत्पादन गर्ने निकाय र गुणस्तरिय स्वास्थ सेवा प्रदायक संस्था नहुनु खेदजनक भएको कुरा हाम्रो पार्टीको ठहर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ। गेटा मेडिकल कलेजका लागि हालसम्म साढे तीन अर्ब रूपैयाँ खर्च भइसकेको छ। तर, ‘मोडालिटी’ बारे अन्योलता छ । यसक्रममा आज संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको संसदीय टोलीले निरीक्षण गर्दैछ । यही सन्दर्भमा एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो ।


