कैलाली। कैलालीमा एक ट्रकमा आगजनी भएको छ। आइतबार राति साढे ११ बजेको समयमा लम्कीचुहा नगरपालिका ३ चिसापानीस्थित कर्णाली पुलमा ना ७ ख ६३२५ नम्बरको ट्रकमा आगजनी भएको हो।
ट्रक चालक चुरे गाउँपालिका ३ सुनारीका ३५ वर्षीय रमेश शाह आफैले पुलको बिच भागमा ट्रकलाई तेर्सो बनाई टायरमा पेट्रोलजन्य पदार्थ प्रयोग गरी आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
चालकले ट्रकमा आगो लगाई सोही पुलमुनी लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लम्की पठाइएको उनले बताए।


