धनगढी। कैलालीको भजनी नगरपालिका–३ थेकीपुरस्थित कान्द्रा नदीमा निर्माणाधीन पुल एक दशक भन्दा बढी समय हुँदा पुल बन्न सकेको छैन् । कान्द्रा नदीमा निर्माणाधीन उक्त पुल ११ वर्षसम्म बन्न नसक्दा पुलको काम अलपत्र अवस्थामा रहेको पाइएको हो । पुल अधुरै छोडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएका छन् ।
चौथो पटक म्याद थप हुँदासमेत एक सय मिटर लामो पुल बनाउन नसकेका साल्पारशेर्पा–लामा–विरुवा जेभी नामक निर्माण कम्पनीहरुका ठेकेदार बेपत्ता भएका हुन। हुलाकी सडक अन्तर्गत पर्ने सो पुल चौथो पटक थप भएको म्याद चैत मसान्तमा सकिएको थियो । ठेकेदार सम्पर्कमा नआएपछि पुल बेवारिसे बनेको छ। अझै एक स्पामसहित अन्य काम बाँकी रहेको बेला निर्माण कम्पनीका ठेकेदार सम्पर्कमा नआएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
पटक–पटक म्याद थप र ताकेता गर्दा पनि निर्माण कम्पनीले पुल बनाउने काम नगरेपछि हुलाकीले तीनवटै निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने तयारी गरेको छ। हुलाकी सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर पदम् मडैले बाँकी रहेको काम पूरा गर्न ठेकेदारहरुले चासो नदेखाएपछि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको बताए । उनीहरुले काम गरि दिएको भए त जरिवाना लिएर काम गराउन सकिने भएपनी सम्पर्कमै नआएको बताए । जसकारण पुल निर्माण स्थलमा न केही निर्माण सामग्री छ न त कम्पनीका मान्छे’, उनले भने । ‘जरिवाना लिएर पनि काम गराउन सक्ने अवस्था नदेखिएकाले कालोसूचीमा राख्ने तयारी गर्ने निर्माण कम्पनीसंग अब ठेक्का तोड्नुपर्ने बताए । २०६८ जेठ २१ गते उक्त पुलको ठेक्का भएको थियो ।
चार करोड ४३ लाख रुपैयाँ साल्पारशेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो । तीन कम्पनीमध्ये लामा पहिल्यैदेखि कालोसूचीमा रहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यसैगरी, आर्थिक सङ्कटका कारण विरुवाको टाट पल्टेको जनाइएको छ । काठमाण्डौंका सुवित श्रेष्ठको सो कम्पनी सामान खरिद गरेर काम गर्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ।बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्का गरेमा पुल निर्माण गर्न थप ढिलाइ हुने भएको छ । यसवर्ष भने अब पुल नबन्ने निश्चित भइसकेको छ ।आयोजना कार्यालयका अनुसार पुलको ७५ प्रतिशत काम पूरा भइसकेको छ ।
एक स्पाम, दायाँबायाँ बाटो र एकतिर ग्याबिन लगाउनमात्रै बाँकी छ । तर, निर्माण स्थलमा निर्माण कम्पनीको उपस्थिति छैन । ‘काम गरि दिए त कुल लागतको प्रति दिन ०.०५ प्रतिशतका दरले हुन आउने २० हजार रुपैयाँ जरिवाना लिएर काम गराउन सकिन्थ्यो’, सूचना अधिकारी मडैले भने । ‘अब काम धेरै छैन । तर, कम्पनीले काम गर्ने चासो नै देखाएका छैनन् ।’ अब बढीमा दुई महिना लाग्ने काम बाँकी रहेको उनको भनाइ छ ।हुलाकी आयोजनाको कार्यालयले साल्पारशेर्पा (हाल परिवर्तित नाम हिमाली) जेभीले काम गर्ने आश गरेको थियो । तर, त्यो कम्पनीले पनि काम गरेको छैन । हिमाली जेभी डोल्पाका नेकपा (एमाले) नेता एवम् प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाको रहेको आयोजनाको कार्यालयले जानकारी दिएको छ । बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत भइसकेका व्यक्ति हुन । ‘हिमालीको अवस्था राम्रो छ । पैसा पनि त्यो निर्माण कम्पनीसंग छ’, सूचना अधिकारी मडैले भने । ‘तर, त्यसले पनि काम गरेन ।’
आयोजनाले अब पुल तयार गर्न अहिलेका निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने र बाँकी काम पूरा गर्नका लागि नयाँ ठेक्का गर्ने जनाएको छ । नयाँ ठेक्का प्रक्रियामा जाँदा समय लाग्ने भएकाले पुल सम्पन्न हुन अझै एक वर्षको समय लाग्ने मडैको भनाइ छ । ‘यो वर्ष पनि पुलको काम पूरा हुँदैन’, उनले भने । २०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो । तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन । २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो । साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो । चौथो पटक थप भएको म्याद यहि चैत मसान्तमा सकिएको छ । कान्द्रामा पुल निर्माण नहुँदा भजनी नगरपालिकावासीलाईमात्रै नभइ हुलाकी राजमार्ग आयोजनाको कार्यालयलाई पनि समस्या भएको मडैले बताए । उनले अब बर्खाको समय आइरहेकाले पुल निर्माण नभएका कारणले सो क्षेत्रका स्थानीय जोखिम मोलेर डुङ्गामार्फत नदी तर्दै आएको बताएका छन् ।


