कैलाली। कैलालीमा नदीमा डुबेर २ जनाको मृत्यु भएको छ । कैलालीको टीकापुरमा तालमा र धनगढीमा नदीमा डुबेर २ जनाको मृत्यु भएको हो ।
धनगढी उप–महानगरपालिका १७ दिपनगर स्थित शिवगंगा नदीमा डुबेर मृत्यु हुनेमा चुरे गाउपालिका १ सायल बस्ने अन्दाजी ३६ वर्षीय विष्णुबहादुर पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको मानसिक अवस्था ठीक नरहेको र नदीमा डुबेर मान्छेको ज्यान गएको भनेर स्थानीय वडा अध्यक्षले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
यसैगरी टीकापुरमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ। टीकापुर–८ स्थित भौना तालमा डुबेर सोही ठाउँका ६५ वर्षीय वृद्ध गोपाल साउँदको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार भैसी चराउन गएका बेला साउँद तालमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। शव पोष्टमार्टमको लागी टिकापुर अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताए ।


