धनुषा। आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातजनाको मृत्यु भएको छ। जिल्लाको मिथिला नगरपालिका– ११ लोटा टोल बस्ने राजनकुमार गोेलेसहित सातजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ रहेका छन्। मृतकमध्ये पुरुषोत्तम तामाङ र तुलसादेवी काठमाडौंमा बस्दै आएका थिए। उनीहरू चुनावका लागि गाउँ आएका थिए।
चुनाव सकिएपछि राजनकुमार परिवारसहित शुक्रबार नै गाउँबाट पोखराका लागि निस्केका थिए। शनिबार दिनभरि पोखरामा बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमान चढेका थिए। मृतक राजनका बहिनी ज्वाइँ मदन लामाका अनुसार उनीहरूले घरबाटै मुक्तिनाथको दर्शन गर्ने योजना बनाएका थिए। एउटै परिवारका सातजनाको मृत्युको खबरले पूरै गाउँ नै शोकमा डुबेको छ। घटना भएको खबर पाएलगत्तै आफूहरु स्तब्ध भएको मिथिला नगरपालिका– ११ का वडाध्यक्ष वेदबहादुर कार्कीले बताए।
यस्तै उक्त विमान दुर्घटनामा गोरखाका एकै घरका चार जना परेका छन् । मुक्तिनाथ घुम्न गएका सहिद लखन गाउँपालिका–५ तिनमानेका ५२ वर्षीय गणेशनारायण श्रेष्ठको परिवारका चार जना जहाजमा रहेको खबर पाएपछि गाउँले स्तब्ध छन् । श्रेष्ठ श्रीमती ४८ वर्षीया रश्मी श्रेष्ठ र छोरीहरु २० वर्षीया रविना श्रेष्ठ र २३ वर्षीया रोजिना श्रेष्ठ विमानमा सवार थिए । अध्ययनको सिलसिलामा अमेरिका रहेका छोरीहरु रविना र रोजिना नेपाल आएको बेला गणेशनारायणको परिवार मुक्तिनाथ घुम्नका लागि पुगेका थिए । ‘हिजो(आइतबार) बिहान जहाज हरायो भनेर सुन्यौँ, केहीबेरमा हाम्रो छिमेकी पनि हुनुहुन्छ भनेपछि स्तब्ध बन्यौँ,’ तिनमानेका विजय पुडासैनीले भने ।
स्थायी घर तिनमाने रहेका गणेशनारायणका परिवार काठमाडौं बस्थे । ‘वैशाख २२ गते गाउँ आएर फर्कनुभएको थियो, अहिले यस्तो खबर सुन्न पर्यो,’ पुडासैनीले भने । गणेशनारायण पाँच जनाको परिवार थिए । गणेशनारायणसहित चार जना परिवार विमानमा सवार थिए । अध्ययनको सिलसिलामा अमेरिकामा रहेका छोरा रोशन पनि विमान हराएको खबर सुने लगत्तै नेपाल फर्केको गणेशनारायणका भान्जा नाता पर्ने कृष्ण श्रेष्ठले बताए ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाइन ९ एन–एइटी भएको ट्विनअटर विमान आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए ।


