काठमाडौं। पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ ।
पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् । पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ ।यस्तै मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ । हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।सम्पर्कविहीन भएको ताराको ट्विनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो । मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार हेलिकोप्टरबाट खोजी तथा उद्धार नभएपछि हेलिकोप्टर अन्तिम समय सम्पर्कमा आएको लेते पास र धौलागिरि श्रृंखला आसपासका क्षेत्रमा प्रहरी र स्थानीय खटाइएको छ । त्यस्तै उपल्लो भेगमा रहेका गोठालाहरुसँग पनि सम्पर्क गरी ट्विनअटर देखिए नदेखिएकोबारे बुझ्न थालिएको छ ।


