कैलाली। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २२ गते सुदूरपश्चिम प्रदेश आउने भएका छन्। स्थानीय तह निर्वाचनको चुनावी आम सभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन्।
२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभालाई उनले सम्बोधन गर्ने एमाले कैलालीले जनाएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ । कैलालीको बर्दगोरीया वा लम्की चुहामध्ये एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ।
२२ गते एमाले अध्यक्ष ओली आउने कार्यक्रमको लागि तयारी सुरु भएको एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले जानकारी दिए। एमाले कैलाली इन्चार्ज नारद मुनी रानाको अध्यक्षतामा अध्यक्ष ओली आउने कार्यक्रमका लागि मूल परिचालन समिति गठन गरिएको छ । तयारीको लागि जनपरिचालन समिति, मञ्च व्यवस्थापन, स्वयमसेवक व्यवस्थापन, यातायात व्यवस्थापन समिति र प्रचार प्रसार तथा मिडिया व्यवस्थापन समिति गठन गरिएको छ ।

