कैलाली। सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ११ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगले मंगलबार बिहान साढे दश बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिममा ३ हजार ८ सय ४६ जनप्रतिनिधि छान्न ११ हजार ७६२ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। यो विवरण थपिने क्रम जारी रहेको छ।
निर्वाचन आयोगले मंगलबार बिहान साढे दश बजेसम्म गरेको तथ्यांकअनुसार प्रदेशका ९ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ७९ निर्वाचन अधिकृतको कार्यालयमा ११ हजार ९८ जनाले उम्मेदवारी दर्ता गरेका हुन्। नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा ११ हजार ७६२ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको प्रणालीमा प्रविष्ट भएको छ।
प्रदेशमा नगरपालिका र उपमहानगरपालिकाको मेयरका लागि २०८, उपमेयरका लागि १६४, गाउँपालिकाको अध्यक्षका लागि २४४ र उपाध्यक्षका लागि १९४ जनाको उम्मेदवारी परेको छ। यस्तै वडा अध्यक्षका लागि २ हजार ७४१, महिला सदस्यका लागि २ हजार ३७, दलित महिला सदस्यका लागि १ हजार ८९८ र सदस्यका लागि ४ हजार २७६जनाको उम्मेदवारी गरेको छ। सोमबार साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेका उम्मेदवारको मनोनयद दर्ता भने आज विहानसम्म पनि जारी रहेको थियो। सोअनुसार यो तथ्यांक अझै बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह प्रमुख, ८८ उपप्रमुख, ७३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य गरी कुल ३ हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुने छन्। स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुन गइरहेको छ। 


