कञ्चनपुर। कञ्चनपुरमा प्रशासनकै गेट अगाडि ठगी भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानीका लागि अनलाइन फारम भरेको बढीमा २ सय रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ।
तर‚ जिल्ला प्रशासनकै गेटमा बसेर दुईदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको पाइएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो । कञ्चनपुरमा राहदानीको प्रक्रिया चाँडो गरिदिने भन्दै अनलाइन फारम भरेको २ हजारदेखि ३ हजार रुपैयाँसम्म लिएको भेटिएपछि प्रशासनले तीन जनालाई पक्राउ गरेको छ।
राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेम फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन्। उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्ला प्रशासनको गेट अगाडिबाट २ जना र दूरसञ्चारको गेट अगाडिबाट १ गरी ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । नियन्त्रणमा लिइएका तीनै जनामाथि ठगी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।‘उनीहरूमाथि ठगी मुद्दा लगाइनेछ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘आफ्नै अगाडि यसरी ठगी हुँदा पनि सेवाग्राही किन बोल्दैनन् ?’ उनका अनुसार बुधबार एक सेवाग्राहीबाट उक्त कुरा खुलेको हो ।अनलाइन फारमबारे प्रशासनकै कर्मचारीले सोधपुछ गर्दा उनले २५ सय तिरेको भनेपछि प्रशासनले सक्रियता देखाएर उनीहरूलाई पक्राउ गरेको हो । राहदानीका लागि अनलाइन फारम भर्नका लागि यसरी अनधिकृत रुपमा चर्को शुल्क लिनेविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैमा आग्रह गरेको छ ।


