काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् ।
एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन् ।यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गरिन् । नयाँ शक्ति पार्टी संघीय समाजवादीमा एकीकरण भएपछि पनि करिश्माले केही समय काम गरिन् । तर, विस्तारै उनी राजनीतिबाट निष्क्रिय बनिन् ।
करिष्माले किन छाडिन् बाबुरामको साथ ?


कुनै पार्टीको महत्वपूर्ण पदमा बसेर, जनताको बीचमा गएर चुनाव लडेर अगाडि बढ्न उहाँ सक्नुहुन्न । अहिले विकास गर्नुभएको छ, भने त्यो मलाई थाहा छैन । नयाँ शक्तिको अवधिमा भने त्यो क्षमता उहाँमा थिएन । भर्खर सिक्दै हुनुहुन्थ्यो ।नयाँ शक्तिमा रहँदा उहाँ देशभर डुल्नुभयो । संगठनात्मक भन्दा पनि प्रचारात्मक हिसाबले आमसभाहरूमा जाने, भेलाहरुमा जाने गर्नुभयो । नयाँ शक्ति पार्टीको अवधिभरि उहाँ क्रियाशील हुनुहुन्थ्यो । एकता अवधिमा पनि उहाँ हुनुहुन्थ्यो । एकतापछि समाजवादी पार्टी बनेपछि पनि उहाँले सपथ लिनुभएको हो । त्यसपछि भने उहाँ असन्तुष्ट हुनुभएको हो । हामीले पनि उहाँ किन असन्तुष्ट हुनुभयो भनेर धेरै राम्रोसँग सोधखोज गरेनौं । त्यो हाम्रो पनि कमजोरी भयो होला । नयाँ शक्तिमा पदहरु थिएन । पार्टी एकतापछि समाजवादी पार्टी भएपछि त्यहाँ विभिन्न उपाध्यक्ष, महासचिव जस्ता पदहरु बनेका थिए । सायद त्यसको मनोवैज्ञानिक असर उहाँलाई पर्यो होला । नयाँ शक्तिमा कसैको पद छैन, मेरो पनि छैन भनेर उहाँलाई ठीक लागेको थियो होला ।

समाजवादी पार्टीमा कोही मानिस महासचिव भन्छन्, कोही उपाध्यक्ष लगायत बिभिन्न पद भन्छन् । म के हो त भन्ने पनि पर्यो कि । त्यो मनोवैज्ञानिक पाटो हो जस्तो लाग्छ । उहाँ पार्टीको एजेन्डा बिचारसँग असहमति भएर हिँड्नुभएको हो जस्तो मलाई लाग्दैन । उहाँ पार्टीबाट बाहिरिनुले पार्टीको संगठनात्मकरुपमा केही प्रभाव पर्दैन । पार्टीमा त्यतिको ब्यक्ति भइरहेको भए राम्रो हुन्थ्यो भन्ने हामीलाई अहिले पनि लाग्छ ।एमाले प्रवेश उहाँको स्वतन्त्रताको विषय हो । म ब्यक्तिको सार्वभौमिकता विश्वास गर्ने मानिस हुँ । मानिसहरुले बिचार छोड्नु, पार्टी छोड्नु, नयाँ पार्टी बनाउनु, बिभिन्न ढंगले आफ्नो विकल्प रोज्नुलाई मैले कहिल्यै पनि नराम्रो हिसावले गाली गर्दिनँ । जुन पार्टीमा गए पनि उहाँले गर्ने भुमिका उस्तै–उस्तै हो । उहाँको मनमा खास एजेन्डाप्रतिको प्रतिवद्धता निर्माण भइसकेको छैन । नयाँ शक्ति भन्नु, समाजवादी भन्नु, जनता समाजवादी भन्नु, काँग्रेस एमाले भन्नु के भिन्नता हो वा समानता हो भनेर छुट्याएर, यो पार्टीमा म यसका लागि वकालत गर्छु वा यो पार्टीमा म यस विषयमा वकालत गर्छु भन्नेखालको ठोस अवधारणा उहाँमा निर्माण भइसकेको छैन । अहिले पनि छैन भन्ने मलाई लाग्छ । एमालेमा गएर पनि उहाँ एउटा कलाकार एमाले हुनुहुन्छ भन्ने मात्रै हो ।
(खतिवडासँग कुराकानीमा आधारित)


