कञ्चनपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ ।
भीमदत्त नगरपालिकामा झन्डै एक दर्जन पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा कागजात नियन्त्रणमा लिई छानबिन सुरु गरेको हो। आयोगले सोमबार डीपीआर निर्माणसम्बन्धी आवश्यक कागजात मगाएर अनुसन्धान सुरु गरेको हो ।
आयोगको कार्यालयमा आइतबार नगरपालिका क्षेत्रका १० वटा पुलको डीपीआर निर्माणमा १ करोडभन्दा बढीको अनियमितता भएको भन्दै पत्रकार तथा नेकपा समाजवादीका नेता खेम भण्डारीले अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । नगरपालिकाले डीपीआर निर्माणका लागि कन्सल्टेन्सी छनोटमै त्रुटी गरेको भण्डारीले उजुरीमा उल्लेख गरेका छन् ।
मल्ल एन्ड ग्रुप इन्जिनियरिङ कन्सल्टेन्सीलाई डीपीआर स्वीकृत नहुँदै १ करोड भुक्तानी दिएको उजुरीमा उल्लेख छ । अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको जानकारी दिए।हो”, उनले भने,“अब छानबिनको प्रक्रिया अघि बढ्यो ।” स्रोतका अनुसार अख्तियारले पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन, इञ्जिनियरिङ परामर्शदाता छनोट, सोसम्बन्धी भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएको हो।
त्यसैगरी आयोगले केही दिनअघि मात्रै भीमदत्त नगरपालिकाबाट महाकाली नदीमा रोयल्टी सङ्कलनको ठेक्का पाएको कञ्चनपुरस्थित भवानी कन्स्ट्रक्सन कम्पनीको कागजात नियन्त्रणमा समेत लिएर छानबिन गरिरहेको छ ।नगरको वडा नम्बर १९ को काली खोला पुल–२, वडा नम्बर ९ का क्रमशः कामी काटे खोला पुल र गताडी खोला पुल, वडा नम्बर ३ को खनिया खोला पुल, वडा नम्बर १८ को भासी खोला पुल, वडा नम्बर १९ को काली खोला पुल–१, वडा नम्बर १३ महाकाली नदी तटबन्ध भएर जाने खोलामा पुल, वडा नम्बर १० को तिलकेनी खोला पुल, वडा नम्बर ९ र १० बिचको खरिया खोला पुल तथा वडा नम्बर १५ को गोबरिया खोला पुलको एकसाथ सिपिआर बनाउने भन्दै कन्सल्टेन्सी कम्पनी छनोट गर्दा कानुन मिचेको भण्डारीको आरोप छ । नदीजन्य पदार्थमा रोयल्टी सङ्कलनको जिम्मा पाएको उक्त कम्पनीले प्रतिघन मिटर नदीजन्य पदार्थको रु ७५ उठाउनुपर्ने भए पनि रु १०५ सम्म सेवाग्राहीबाट लिएको अख्तियारीको भनाइ छ ।


