कञ्चनपुर। छाडा चौपायाले भरिभराउ रहने मझगाउँ विमानस्थलमा केही दिनदेखि चहलपहल देखिन थालेको छ । विमानस्थलको धावनमार्ग निर्माण सुरु भएपछि उक्त क्षेत्रमा चहलपहल सुरु भएको हो ।
लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्ने उद्देश्यले स्तरोन्नति गरिन लागेको छ । पहिलो चरणमा निर्माण कम्पनीले धावनमार्ग निर्माणको काम सुरु गरेको छ । धावन मार्गसंँगै ट्याक्सी वे र एप्रोनलगायतको काम पनि सुचारु गरिने निर्माण कम्पनीले जनाएको छ । ‘अहिले रन वे निर्माणको काम सुरु भएको छ,’ विमानस्थल निर्माण कम्पनी कान्छारामरकेएसरउमा एन्ड कम्पनीका इन्जिनियर जितेन्द्र यादवले भने, ‘अहिले एक हजार मिटर रन वे खाली छ, बाँकी पनि खाली गर्ने प्रक्रिया अघि बढेको छ ।’
उनका अनुसार विगतको रनवेमा अहिले काम चलिरहेको छ ।अहिले विमानस्थलमा झारपात तथा माथिल्लो तहमा रहेको खुकुलो माटो हटाउने काम भइरहेको छ । त्यसपछि स्तरीय माटो भरान गरेर ग्राभेल हालिनेछ । विभिन्न तहमा ग्राभेल गरिसकेपछि धावनमार्ग कालोपत्र गरिने निर्माण कम्पनीले जनाएको छ । विमानस्थलको दक्षिणतर्फ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँंगैको रत्न वाटिका र नेपाली सेनाको खेल मैदान रहेको स्थान खाली भएपछि थप ५ सय २५ मिटर रन वे निर्माण हुनेछ ।
अहिले खाली रहेको १ हजार मिटर तथा रत्न वाटिका रहेको ४ सय र सेनाको खेल मैदान रहेको २ सय मिटर गरी विमानस्थलको लम्बाइ १६ सय मिटर पुग्नेछ । विमानस्थल निर्माणका लागि स्थानीय तह, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारले साझेदारी गरेका छन् । तीन वर्षभित्र निर्माण कार्य सक्ने गरी ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको हो । जसमध्ये दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र संघीय सरकारले ५० प्रतिशत बजेट उपलब्ध गराउनुपर्ने त्रिपक्षीय साझेदारी भएको छ ।
‘साइड क्लियर भएमा र निर्माण सामग्रीको अभाव नभएमा हामीले डेढ वर्षभित्रै काम सक्ने लक्ष्य राखेका छौं,’ इन्जिनियर यादवले भने, ‘अहिले रत्न वाटिका र सेनाको खेल मैदानसंँगै विमानस्थल क्षेत्रमा रहेको रूखहरू खाली गराउने प्रक्रिया चलिरहेको छ ।’ २०३० देखि हवाई सेवा सुरु भएको यो विमानस्थल सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द भएको २२ वर्षपछि स्तरोन्नतिको काम सुरु हुँदा स्थानीय निकै हर्षित भएका छन् ।


