कैलाली। कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको अनियमितता छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबारदेखि दुवै जिल्लामा छानबिन सुरु गरेको हो ।
अख्तियारको केन्द्रीय कार्यालयबाट दुई/दुई जनाको टोली छानबिनका लागि खटिएको आयोगको महेन्द्रनगरस्थित कार्यालयले जनाएको छ । दुवै जिल्लामा नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा छानबिन भइरहेको हो । टोलीले वैज्ञानिक वनको सुरुवात भएको सामुदायिक वनको स्थलगत निरीक्षणसँगै उपभोक्ता समितिका पदाधिकारीदेखि उपभोक्ताहरू सबैसंँग जानकारी लिने तथा छलफल गर्नेछ ।
‘दुवै जिल्लामा छुट्टाछुट्टै टोली खटिएको छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले भने, ‘केन्द्रबाट टोली परिचालन भएको हो, उनीहरूले आफ्नै हिसाबले अनुसन्धान गर्नेछन् ।’ उनका अनुसार टोलीले एक सातासम्म अध्ययन–अनुसन्धानको काम गर्नेछ । संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनका आधारमा अख्तियारले छानबिन सुरु गरेको कुरुम्बाङले बताए ।
संसदीय समितिले नै अख्तियारलाई छानबिनका लागि प्रतिवेदन पठाएको उनले बताए । कैलाली र कञ्चनपुरमा डेढ दर्जन बढी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका नाममा व्यापक अनियमितता भएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । उपसमितिले सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक हेमराज विष्ट, कैलालीको पहलमानपुरका डिभिजन वन अधिकृत कृष्ण भट्ट, धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल र कञ्चनपुरका डिभिजन वन अधिकृत अजयविक्रम मानन्धरले अवैध रूपमा कटानी आदेश दिएको, काठ व्यवसायीसंँग मिलेर अस्वाभाविक रूपमा उच्च स्तरमा जीवनशैली अपनाएको संसदीय उपसमितिको प्रतिवेदनमा उल्लेख गरेको छ ।
अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा अख्तियारले विष्टलाई अनुसन्धानको दायरामा ल्याएको छ । देशका विभिन्न ठाउँमा घरघरेडीदेखि जमिनसमेत रहेको तथ्य सार्वजनिक भएको थियो । प्रदीप यादवको संयोजकत्वमा गठित उपसमितिमा प्रेम आले र मीना सुब्बा सदस्य रहेका थिए । गतवर्ष गठन गरिएको उपसमितिले आफ्नो प्रतिवेदनमा वैज्ञानिक वन व्यवस्थापन खारेज गर्नुका साथै दिगो वन व्यवस्थापन लागू गर्न सुझाव दिएको छ । उपसमितिले वैज्ञानिक वन व्यवस्थापन सुरु भएका कैलालीका १५ र कञ्चनपुरका २ सामुदायिक वनको अध्ययन गरेको थियो ।
यसबाहेक चुरेसँग जोडिएका र तराईका अन्य जिल्लाका सामुदायिक वनको समेत समितिले अध्ययन गरेको थियो । सामुदायिक वनका पदाधिकारीहरूले पनि उपभोक्ताको किर्ते दस्तखत गराएर वैज्ञानिक वन व्यवस्थापनको निर्णय गराएको, कतिपय उपभोक्ता समितिका पदाधिकारी नै लामो समयदेखि नेपालमा नरहेको अवस्थामा समेत निर्णयमा उनीहरूका हस्ताक्षर भएको, झोलामा कार्यालय राखेको र फायर लाइनका नाममा कटानी आदेशभन्दा बढी रूख कटान गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । वैज्ञानिक वन व्यवस्थापनमा व्यापक अनियमितता भएपछि सरकारले उक्त कार्यक्रम रोकेको थियो । त्यसपश्चात् लेखा समितिले उपसमिति गठन गरेको हो । वैज्ञानिक वन व्यवस्थापनका क्रममा कटान भएका रूखहरू अहिले पनि सामुदायिक वनमै घाटगद्दी गरिएको छ । काटिएका रूखहरू लामो समय वनमा रहेको र अहिले पनि घाटगद्दीमै रहँदा हैसियत बिग्रिनेदेखि सुक्खायाममा डढेलोले पूरै काठ सखाप हुने जोखिमसमेत छ ।


