धनगढी। धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसमा ध्यान केन्द्रित पठनपाठनकालागि तीन दिनसम्म प्रशिक्षण सञ्चालन भएको छ ।
क्याम्पसले शिक्षक, प्राध्यापक तथा कर्मचारी र विद्यार्थीहरुलाई सम्पूर्ण ध्यानकेन्द्रित पठनपाठन विधिका बारेमा तीन दिनसम्म शिविर संचालन गरी प्रशिक्षण दिएको हो। प्रशिक्षण कार्यक्रममा कक्षा ११ र १२ तथा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुको सहभागितामा प्रभावकारी पठनपाठन विधि तथा सिक्ने क्षमता अभिवृद्धिकालागि सो कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ।
प्रशिक्षक भुवनराज चटौतले प्रशिक्षण दिएका हुन् । कार्यक्रममा प्रभावकारी र व्यवहारिक शिक्षण पद्धति तथा सम्पूर्ण ध्यान केन्द्रित गरेर अध्यापन गर्ने विधिका बारेमा जाानकारीका दिइएको छ। भावनात्मक र बौद्धिक रुपले तयार भई ध्यान केन्द्रित भएर अभ्यास गर्दा अभ्यास र सिकाइ प्रभावकारी हुने प्रशिक्षक चटौतको भनाई छ । शरीरलाई नियन्त्रणमा राखेर भावना र मस्तिष्कलाई एकाग्र बनाउने कला सिक्न प्रशिक्षणबाट सहयोग मिलेको सहभागीहरुले बताएका छन् ।
प्रशिक्षणबाट अवचेतन मस्तिष्कलाई सक्रिय बनाउने र स्मरणशक्ति बढाउने उपाय सिकेको विद्यार्थीहरुले बताए । सो अवसरमा मस्तिष्कको योगाभ्यासका साथै क्रियायोग प्रशिक्षण, सिकाइ र शिक्षण विधिकालागि अन्तरक्रियात्मक प्रशिक्षण, प्रयोगात्मक गतिविधि, खेल माध्यमबाट श्रव्यदृश्य सामग्रीको प्रयोग र सामूहिक छलफल तथा प्रस्तुतीकरणमार्फत प्रशिक्षण दिइएको थियो । क्याम्पस प्रमुख योगराज उपाध्यायले एकदिनमा मानिसको दिमागमा ७० हजारभन्दा बढी विचार आउने बताउँदै समय परिवर्तनसँगै कुनै पनि व्यक्ति आफ्नो उद्देश्यमा शतप्रतिशत लाग्न नसक्दा लक्ष्य र उद्देश्य प्राप्त गर्न नसकिने भएकाले प्रभावकारी शिक्षणका लागि यस्ता कार्यक्रमहरू उपयोगी हुने बताए । क्याम्पस प्रमुख उपाध्यायले पूर्ण ध्यानकेन्द्रित भएर कुशलताका साथ कार्यसम्पादन गर्न सके लक्षित उद्देश्य प्राप्तिमा सफलता मिल्ने बताए ।उनले वर्तमान समयमा विश्वविद्यालयको डिग्रीले मात्रै मान्छेलाई परिष्कृत बनाउन नसकिने भएकाले जीवन र जगतलाई बुझ्ने मूल्य र मान्यता सिकाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । क्याम्पसले आगामी समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विद्वानहरुलाई बोलाएर थप कार्यक्रमहरु सञ्चालन गर्ने उनले जानकारी दिएका छन् ।




