धनगढी। निजी क्षेत्रको बुद्ध एयरलाइन्सले आजदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । बुद्ध एयरले बुधबारदेखि पोखरा–धनगढी सिधा उडान सुरु गरेको हो ।
बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। बिहान ११ः ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः ५० मा फर्किनेछ। जहाजमा यो दूरी ५५ मिनेटमै पूरा गर्न सकिन्छ ।
५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ। यात्रुको चाप र माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बताइएको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि उडान भरेको पहिलो बुद्धएयरका १८ यात्रुलाई स्वागत गर्नुका साथै धनगढीबाट पोखरा जाने यात्रुलाई बिदाइ गरका हुन् ।
पोखरादेखि धनगढीसम्मको सिधा हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिमका बासिन्दाले काठमाडौँ हुँदै पोखरा जानुपर्ने बाध्यता हट्ने भई समय र पैसाको समेत बचत हुने देखिएको धनगढीस्थित बुद्धएयर स्टेशनका प्रमुख बुधराम माझीले बताए । “पोखरा–धनगढी–पोखरासम्म आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने गरी हवाई सेवा दिन सुरु गरेका छौँ”, माझीले भने, “यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरेका छौँ ।” पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पोखरा धनगढीसम्म हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको बताए ।
नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले मुक्तिनाथ र पोखरा भ्रमण गर्न चाहने भारतीयका साथै आन्तरिक पर्यटकलाई समेत लक्षित गरी पोखरा–धनगढीको सिधा हवाई सेवा सञ्चालन गर्न बुद्धएयर सहमत भएको बताए । “अहिलेसम्म हामी पर्यटकका लागि काठमाडौँको मात्र प्याकेज बनाउन पाउँथ्यौँ, सिधा हवाई सेवा सुरु हुँदा अब पर्यटकका लागि पोखराको पनि प्याकेज बनाउन पाउने भयौँ”, उनले भने, “यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ ।पोखरासँग सुदूरपश्चिमको सीधा सम्पर्कले पर्यटन प्रवद्र्धनमा टुलो टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी प्रमानन्द भण्डारीले बताए।
पर्यटन व्यवसायसँगै सुदूरपश्चिमको विकासका लागि पनि प्रत्येक सहरसँग हवाई सम्बन्ध जोड्न प्रदेश सरकारले पहल गर्ने उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बताए। पोखरा घुम्न आउने आन्तरिक एवं पर्यटक अब सुदूरपश्चिमसम्म पुर्याउने काम धनगढी–पोखरा सीधा हवाई उडानले गर्ने अपेक्षा गरेको प्रदेशका आर्थिक मामिला मन्त्री तारालामा तामाङले बताए। पोखराबाट धनगढी आइपुगेको बुद्ध एयरका पाइलट र यात्रुहरूलाई सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मालिमामन्त्री तारा लामा तामाङ, कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नाटा सुदुरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्ट लगायतले धनगढी बिमानस्थमा स्वागत गरेका थिए । सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।


