कैलाली। सरकारले कानुनी निर्क्योल नगर्दा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा अन्योल थपिएको छ। मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे सरकारले हालसम्म कानुनी निर्क्योल नगर्दा तीन वर्षदेखिको अन्योल कायमै रहेको पाइएको हो ।
जसका कारण गेटा मेडिकल कलेज सञ्चालनका लागि झन्डै ५ अर्ब लागतमा तयार ती भवनहरू बिग्रेर जाने जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मेडिकल कलेज कुन मोडेलमा सञ्चालन गर्ने हो तत्काल आवश्यक कानुनी प्रबन्ध गरेर मेडिकल कलेज चाँडो सञ्चालन हुनुपर्छ भन्दै आएकोमा अहिलेसम्म कसैले नसुनेको बताए । संघ र प्रदेश सरकारको साझेदारीमै सञ्चालन गर्ने भएपनि तयार रहेको जानकारी दिए । मेडिकल कलेज पूर्वाधार विकास समिति गेटा कैलालीका कार्यकारी निर्देशक हेमराज पुजाराले यसअघि एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयक तीन वर्षदेखि मन्त्रिपरिषद्मा थन्किएको बताएका छन् ।
प्रस्तावित विधेयकअनुसार गेटा, बुटवल, बर्दिबास र सुर्खेतमा स्थापना हुने मेडिकल कलेजलाई लक्षित गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा लिएको पुजाराले जानकारी दिए । उनले‘सरकार फेरिएपछि अघि नबढेका फाइलहरू सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने परम्परा रहेको बताउँदै अहिलेको सरकार आएपछि उक्त फाइल पनि शिक्षा मन्त्रालयमै फिर्ता पठाइएको र ‘शिक्षा मन्त्रालयले अहिले फेरि जस्ताको तस्तै सो प्रस्तावित विधेयक क्याबिनेटमा पठाएको भन्ने सुनेको निर्देशक पुजाराको भनाइ छ। यता, थन्किएकै उक्त प्रस्तावित विधेयकको खाकामै पनि यस क्षेत्रका बासिन्दा सहमत छैनन् । धेरै प्रतिष्ठान बनाउनुभन्दा छाता संरचना बनाएर गेटा मेडिकललाई पनि सोही एकीकृत प्रतिष्ठानभित्र समेट्ने योजना बनाइएको छ । त्यस प्रावधानअनुसार गेटा मेडिकल कलेज आंगिक निकायका रूपमा रहने अवस्था छ । ‘सुदूरपश्चिमका बासिन्दाहरू गेटालाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गरिरहेका छौं, सकभर विश्वविद्यालय बनाउनु नै उपयुक्त हो, नभए कम्तीमा यसलाई अलग्गै प्रतिष्ठान त बनाउनुपर्ने हो,’ कार्यकारी निर्देशक पुजाराले भने, ‘मैले आफ्नो तहबाट त प्रयत्न गरिरहेकै छु । तर राजनीतिक नेतृत्वको पहलमा धेरै कुरा निर्भर हुन्छ ।’
यसअघि कार्यरत समितिका अध्यक्ष डा। चेतराज पन्तसहित मनोनीत पदाधिकारीको पनि म्याद सकिएकाले केही महिनादेखि समिति पदाधिकारीविहीन छ । हाल पदेन सदस्य मात्र रहको उनले बताए । पदेन सदस्यहरूमा गोदावरी र धनगढीका नगरप्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत रहने व्यवस्था छ । ‘राजनीतिक प्रतिबद्धता र सक्रियता भयो भने सबैभन्दा राम्रो त मेडिकल युनिभर्सिटी बनाउने अवधारणा हो,’ हालै अवकाश प्राप्त कार्यकारी निर्देशक भीमबहादुर साउदले भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गेटालाई मेडिकल युनिभर्सिटी स्थापना गर्ने घोषणा गर्नु भएको थियो । तर घोषणामै सीमित भयो ।’ उनले कानुनी रूपमा चाँडो निर्क्योल हुने हो भने आगामी आर्थिक वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्न सकिने अवस्था रहेको बताए ।
सरकारले २०६७ मा मेडिकल कलेज प्रवर्द्धन समिति बनाएको थियो । पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत २०७२ मा यहाँको भौतिक पूर्वाधारहरू मेडिकल कलेज पूर्वाधार विकास समिति गेटा कैलाली गठन गरेर काम अघि बढाएको थियो । ६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भवनलगायत २७ वटा अत्याधुनिक भवनहरू तयार भइसकेका छन् । अस्पताल, कलेज, प्रशासनिक भवन, छात्राबास, निवासलगायत सातवटा प्याकेजअन्तर्गत भवन पूर्वाधारका कामहरू भएका हुन् । पर्खाल, ५ वटा निवास भवन, तटबन्धको काम पनि सम्पन्न भइसकेको छ । विद्युतीकरणका लागि टेन्डर भइसकेको छ । हस्पिटल कलेज, प्रशासनिक छात्रावास गरी ५ वटा भवन यस अघि नै निर्माण कम्पनीले विकास समितिलाई हस्तान्तरण गरिसकेको छ । अब बाह्र काममा खानेपानी र फोहरमैला व्यवस्थापनको पूर्वाधार बनाउन बाँकी छ । मेडिकल कलेज सञ्चालनमा आउन सके २७ वर्षअघि सुरु भएको सुदूरपश्चिमवासीको मेडिकल कलेजको सपना पूरा हुने यहाँका बासिन्दाको भनाइ छ । प्राध्यापक डा हेमराज पन्तले ‘गेटा मेडिकल कलेजले यो प्रदेशका बासिन्दाहरूको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै हैन, यहाँको आर्थिक गतिविधिसमेत बढाउने जानकारी दिएका छन् ।कान्तीपुरबाट


