अछाम। सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउँदले अछामको विकास निर्माणका लागि प्रदेश सरकारबाट अहिलेसम्मकै ठूलो सहयोग प्राप्त भएको बताएकी छन्।
राज्यमन्त्री साउदले सुदूरपश्चिम प्रदेश सरकारले अछामका सातवटा रणनीतिक सडकलाई अघि बढाउन सफल भएको बताइन्। चालू आर्थिक वर्ष ०७८/०७९ बाट काम सुरुवात गरेर आव २०८०/०८१ मा कालोपत्रे गर्ने गरी सडक निर्माण कार्य सुरुवात भएको उनको भनाइ छ।
चिसापानी जंगलघाट ऋषिदह वडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडक, मंगलसैन जुपु लुगाडा रामारोशन सडक, चौखुट्टे चौरपाटी सडक, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडक, साँफे बुढाकोट सडक र बल्देखोला सडकपुल रामारोशनमा सडक निर्माण सम्पन्न गर्ने गरी बजेटको सुनिश्चितता भएको एक कार्यक्रममा उनले उल्लेख गरिन् ।
तीन वर्षभित्र सम्पन्न हुने गरी सडकका लागि एक अर्ब सात करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको राज्यमन्त्री साउदको भनाइ छ। साउदले शिक्षा, स्वास्थ्य, महिलाको जीवनस्तर परिवर्तनका लागि प्रदेश सरकारबाट विभिन्न कार्यक्रम हुँदै आएको बताइन् । शिक्षामा गुणस्तरता, स्वास्थ्यमा सबैको पहुँचका लागि काम हुँदै आएको उनको भनाइ छ । बयलपाटा अस्पताल प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको पनि उल्लेख गरिन् । महिलाको आर्थिक अवस्था परिवर्तनका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्वरोजगारमूलक कार्यक्रम चाँडै सञ्चालनमा आउने उनको भनाइ छ ।

