कञ्चनपुर। नेकपा एमाले बेलडाँडी गाउँ कमिटीले उपाध्यक्ष तथा बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रेम खातीको मुखमा कालोमोसो लगाउनेलाई कारवाहीको माग गरेको छ।
नेकपा एमाले बेलडाँडी गाउँ कमिटीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्षमाथि कालोमसो दल्ने विप्लवका कार्यकर्तालाई कारवाहीको माग गरेको हो। कार्यालयमा आएर अध्यक्षमाथि कालोमोसो छ्याप्ने दण्डनीय कार्य गरेको प्रति एमाले बेलडाँडी गाउँ कमिटीले घटनाको भर्सना गरेको छ।
बिहीबार दिउँसो विप्लवका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि कार्यकक्षमै गएर मोसो दलेका थिए। विप्लवले वडाध्यक्ष खातीमाथि विभिन्न भ्रष्टाचारको आरोप लगाईएको थियो। मोसो दलेको विप्लव निकट युवा संगठन नेपाल कञ्चनपुरले जिम्मा लिएको छ। युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले हस्ताक्षर गरेको विज्ञप्तीमा वडाध्यक्ष खातीमाथि जनकार्बाही गरेको जिम्मा लिएको हो।
उक्त विज्ञप्तीमा वडा भवनको भाडा, कर्मचारी मनोमानी राखेको, कालिकिच तालमा उपभोक्ता समितिको कार्यालयदेखि क्याम्पसम्म सडक निर्माणमा आर्थिक अनियमितता गरेको, वडा कार्यालयमा अनुपस्थित भएको, बसपार्कका लागि भनि ल्याएको गिट्टी बालुवा २७ टिप्पर बेचेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, उपभोक्ता समितिमा पनि मनोमानी तरिकाले आफ्नो अनुकुल काम गरेको, साझौता र साना किसान लघुवित्तिलाई जमिन सहित १५ लाख दिने निर्णय गरि अनियमिता गरेको आरोपमा जनकार्बाही गरेको आरोप लगाईएको छ।
खाती एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । उनले सहकारी योजनाको कुुरा गर्न कार्यकक्षमा आएको समूहले अचानक मोसो दलेको बताए । ‘अचानक ७/८ जनाको काम छ भन्दै भित्र आए, कोठामा पुग्दा सहकारी योजनाको कुरा गर्ने क्रममा मोसो फालेर गए’ उनले भने । मोसो दलेर जाने व्यक्तिहरुलाई आफूलाई नचिनेको अध्यक्ष खातीले बताए । ‘मैले कसैलाई चिनेन्, उनीहरु स्थानीय होईन, ‘उनले भने, ‘आफुमाथि लगाएको आरोप निराधार हुन, म माथि राजनीतिक प्रतिशोध साध्यो ।’ उनले आफूमाथि लगाएका सबै आरोप निराधार भएको उल्लेख गर्दै गल्ती गरेको भए कानुन अनुसार सजाय भोग्न तयार भएको बताए । ‘ममाथि लगाएको आरोप जति छन, मैले गल्ती गरेको छैन, ‘उनले भने, ‘गल्ती गरेकै भए कानुन अनुसार सजाय भोक्छु ।’जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले वडाध्यक्षमाथि दुव्र्यवहार मोसो दल्ने समुहको खोजी भईरहेको बताए । ‘मास्क लगाएर कार्यालय आएकाले पहिचानमा समस्या भयो, ‘उनले भने, ‘टोली खटिएको छ, मोसो दल्नेलाई पक्राउ गरेर कार्बाही गछौँ ।’


