मोरङ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका झलनाथ खनाल निकट खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नाता सम्बन्धका उपेन्द्र घिमिरेले शपथ लिएका हुन् ।
कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् । कांग्रेसबाट शपथ लिएका तीन जनामध्ये थापा र हाङ्गाम सभापति शेरबहादुर देउवा निकट र सरावगी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन्। मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका शेखर कोइराला समूहलाई वाइपास गरिएकाले असन्तुष्ट छन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको थियो । तर, अहिले अझै एउटा मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पुर्याएको हो। यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री केदार कार्की अनुपस्थित रहेका थिए।


