कैलाली। सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई तत्काल लालपूर्जा दिन माग गर्दै किसान महासंघ कञ्चनपुरले चक्काजाम गर्ने भएको छ । महासंघले आज दिउँसो १ बजे कञ्चनपुरको वाणी र कैलालीको बौनियाँमा एकैसाथ १ घण्टा चक्काजाम गर्ने र आन्दोलनका कार्यक्रम तय गरेको महासंघका सुदूरपश्चिम प्रदेश संयोजक खेम सुवेदीले जानकारी दिए ।
शुक्रबार दिउँसो १–२ बजेसम्म १ घण्टा कृष्णपुर नगरपालिकाको वाणीस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम रहेकोमा अविरल वर्षाका कारण आज आइतबार गर्न लागेको उनले जानकारी दिए । महासंघले स्थानीय तहको निर्वाचन बैशाख महिनाभित्र सम्पन्न गर्नुपर्ने, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने, भूमि आयोगद्वारा अव्यवस्थित बसोबासी र भूमिहीनलाई तत्काल जग्गा नापजाँच गरी लालपूर्जा उपलब्ध गराउनुपर्ने, आरक्षपीडित किसानहरूलाई अविलम्ब जमिन र बसोबासको ग्यारेन्टी गर्नुपर्ने माग छ ।
यस्तै गत असोज र कात्तिकमा अविरल वर्षाले पुर्याएको धान लगायत अन्य बालीको क्षतिको यकिन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र आम नेपाली किसानहरूको मौलिक हक खाद्य सम्प्रभूता लगायत महासंघले उठाएका ११९ मागहरूलाई सम्बोधन गर्नुपर्ने माग सरकारसँग राखेको छ । किसान महासंघ सुदूरपश्चिम प्रदेश संयोजक सुवेदीले ‘भूमि आयोगको काम तत्काल अगाडि बढाएर लालपूर्जा वितरण गर्नुपर्ने माग रहेको बताउँदै फिल्डमा प्राविधिक खटाएर जग्गा दर्ता प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।
गत असोज र कात्तिकमा अविरल वर्षाले धानबालीमा गरेको क्षतिको राहत वितरण गर्न समेत महासंघले माग गरेको संयोजक सुवेदीको भनाई छ ।‘किसानको धनजनको क्षति भएपनी राहत नपाएको किसानहरुको गुनासो छ । सरकारबाट क्षतिपूर्ति पाउने त टाढाको कुरा भयो, राहत पनि पाइएन । राहत र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन महासंघ सरकारसँग माग गर्दछ ’ उनले भने । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने किसान महासंघको भनाई छ ।

