कैलाली। कोरोनाका कारण बेरोजगार भएर स्वदेश फर्किएका सुदूरपश्चिमेलीलाई रोगभन्दा भोककै चिन्ता थपिएको छ । रोगभन्दा भोककै चिन्ताले महामारीकै बिच भारत पस्न बाध्य छन् स्वदेश फर्किएका सुदूरपश्चिमेलीहरू ।अहिले कोभिड-१९को तेश्रो लहरको जोखीम निकै बढेको छ ।
तेश्रो लहर फैलिएकै बिच भारतबाट स्वदेश फर्किएका नेपालीहरू पुन: लालाबालासहित भारत तिरै फर्कन थालेका छन् । नेपालमा आम्दानीको स्रोत नभएपछि भोकको चिन्ताले रोगको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका हुन् । गाउँशहरमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न सहर जाने क्रम बढेको हो । अहिले यहाँको मुख्य नाका गौरीफन्टाबाट भारत पस्नेको दिनहुँ भिड लाग्ने गरेको छ ।
कोभिड-१९ महामारीकै बिच दैनिक सयौँ सुदूरपश्चिमेलीहरू भारत पस्न बाध्य भएका छन् । स्वदेशमा रोजगारीका कुनै पनि अवसर नभएपछि फेरि ज्यानको बाजी राखेर पुनस् भारत जानुपर्ने बाध्यता भएको उनीहरूको दुखेसो छ । गाउँमा बस्दा रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेपछि आफूहरू मुग्लान पस्नु पर्ने बाध्यता आएको डोटीका रामबहादुर ढाट बताउँछन् । सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी तथा डोटीलगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने परम्परा छ । यहाँका नौ जिल्लामध्ये सबैभन्दा बढी अछाम, बाजुरा तथा डोटीका नागरिक कामका लागि बढी भारत पस्ने गरेका छन् ।