धनगढी। भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ। मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ । सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन् । भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन बनाएका छन् । उनीहरूले चुनावमा लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन्। स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ। निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन्। कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै राष्ट्रिय सभा चुनावमा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डको सूची सार्वजनिक गरिसकेको छ ।
सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा
सुदूरपश्चिम प्रदेश-सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्यको मतदानकालागि प्रदेश सभाको भवनलाई मतदान केन्द्र तोकिएको छ। निर्वाचनको लागि तयारी पुरा भएको जनाएको छ। सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ।सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् ।
कर्णाली प्रदेश-कर्णालीको सुर्खेतमा मतदान स्थल तोकिएको छ। कर्णालीका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदानका लागि सामग्री आइसकेको र तयारीसमेत अन्तिम चरणमा रहेको बताए ।कर्णालीमा तीन पदका लागि निर्वाचन हुनेछ ।
लुम्बिनी प्रदेश-लुम्बिनीको दाङमा मतदान हुनेछ । लुम्बिनीमा तीन पदका लागि निर्वाचन हुनेछ ।
गण्डकी प्रदेश- गण्डकीको पोखरामा मतदान हुनेछ । गण्डकीमा तीन पदका लागि निर्वाचन हुनेछ ।
बागमती प्रदेश-बागमतीको हेटौँडा मा मतदान हुनेछ। बागमती प्रदेशका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानको तयारी पूरा भएको र बुथ निर्माण मङ्गलबार साँझसम्म सकिने जानकारी दिए । बागमतीमा दुई पदका लागि निर्वाचन हुनेछ ।
मधेस प्रदेश- मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ । आयोगले जारी गरेको स्वास्थ्य निर्देशिकाबमोजिम मतदानको व्यवस्था मिलाउने र निर्वाचन कार्यालयले व्यवस्थापकीय पक्ष तयारी अवस्थामा राखेको उनले बताए । मधेस प्रदेशमा समेत मतदानको तयारी पूरा भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिए । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ । आयोगले जारी गरेको स्वास्थ्य निर्देशिकाबमोजिम मतदानको व्यवस्था मिलाउने र निर्वाचन कार्यालयले व्यवस्थापकीय पक्ष तयारी अवस्थामा राखेको छ। मधेस प्रदेशमा दुई पदका लागि निर्वाचन हुनेछ ।
प्रदेश १ –प्रदेश १ का मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मतदानको तयारी पूरा भए पनि बुथ निर्माणको कार्य मङ्गलबार मात्रै हुने जानकारी दिए । प्रदेश १ को दुई मतदान स्थलमा दुईवटा मतदान केन्द्र छन् । प्रदेश १ मा तीन पदका लागि निर्वाचन हुनेछ। अधिकृत लम्सालले मङ्गलबार बिहान नै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूसँग छलफल गर्ने जानकारी दिए। निर्वाचनका लागि विराटनगर महानगरपालिका–१३ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयलाई मतदान केन्द्र तोकेको छ । त्यसमध्ये बाली संरक्षण केन्द्रको कार्यालयको मतदान केन्द्रमा प्रदेश सभाका सांसदहरूले मतदान गर्नेछन् भने प्रदेश निर्वाचन आयोगको कार्यालयमा स्थानीय निकायका पदाधिकारीहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।।निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ ।