कैलाली। कैलालीमा आज राति १२ बजेदेखि लागू हुने गरी नयाँ आदेश जारी भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि बढ्न थालेपछि नयाँ आदेश जारी भएको छ।
बिहीबार भएको जल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी)ले गरेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी थप कडाइका साथ लागू गर्न अर्को आदेश जारी गरिएको हो।कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले २४ बुँदे जारी आदेशमा अनुसार २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ। होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ।
भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेष्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्न, सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्न आदेशमा आह्वान गरिएको छ। यस्तै भारतमा किनमेलका लागि जान रोक लगाइएको छ। राष्ट्रिय राजमार्गमा रहेका होटल सञ्चालन गर्दा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने छ। यस्तै विवाह, ब्रतवन्ध लगायतका धार्मिक कार्यक्रम गर्दा बढीमा ५० जना मात्रै सहभागी गराउने पाइने, खेलकुद प्रतियोगिता गर्दा क्षमताको एक तिहाई मात्र दर्शक राख्न पाइने आदेशमा उल्लेख छ।





