धनगढी। नेकपा एमालेको जिल्ला अधिवेशन अन्तरगत कैलालीमा नेतृत्व दावी गर्नेहरूबीच सहमति नजुटेपछि आइतबार विहान ८ बजेदेखि चुनाव हुने निश्चित भएको छ ।
शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो। वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। यसक्रममा उपाध्यक्ष रणबहादुर चन्दको नेतृत्वमा एउटा प्यानल बनेको छ ।
सो प्यानलमा सीताराम बुढाथोकी उपाध्यक्ष, डेजी पाण्डे सचिव, लोकेन्द्र शाही र ममताप्रसाद चौधरी उपसचिवका उम्मेद्धार भएका छन् । यसअघि थापा, चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दावी गरिरहेका थिए । प्यानल सहित चुनावमा जाने तयारी भएपछि पाण्डेले उपाध्यक्ष चन्दलाई अध्यक्षमा समर्थन गरेका छन् । अध्यक्षका उम्मेदवार चन्दले सदस्यहरुको नाम पनि तयार भइरहेको बताए ।थापा प्यालनबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दानबहादुर बिक र उपसचिवमा प्रेम चौधरी र मदन ओझा उम्मेद्वार रहेका छन्। प्यानलसहित चुनावमा जाने तयारी भएपछि पाण्डेले उपाध्यक्ष चन्दलाई अध्यक्षमा समर्थन गर्ने घोषणा गरेका छन्। कैलालीमा २२ हजार बढी संगठित सदस्य छन्। आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन्।
निर्वाचन तालिका सार्वजनिक, भोलि मतदान
जिल्ला अध्यक्षलगायतका पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको छ। निर्वाचन कमिटीले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ। तालिकाअनुसार आज दिउसो ३ बजेदेखि ३ः ३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस्तै, ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै साझ ७ः ३० देखि ८ः ३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले बताए।आइतबार बिहान ८ः ३० बजेदेखि १ः ३० बजेसम्म मतदान हुने र दिउँसो ३ बजेबाट मतगणना शुरू हुने उनले बताए।