धनगढी। एमाले कैलाली अध्यक्षमा नेतृत्व दाबी गर्नेहरूबीच सहमति जुट्न सकेको छैन। शुक्रबार देखी सुरु भएको एमालेको आठौँ जिल्ला अधिवेशनमा तीनै दाबेदारहरूले अध्यक्षमा दाबी गरिरहेपछि सहमति जुटाउन सकस परेको हो।
आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने सम्भावना पनी बढेको छ। सुदूरपश्चिममा एमालेको सबैभन्दा धेरै संगठित सदस्य रहेको कैलालीमा नेतृत्व दाबी गर्ने वर्तमान अध्यक्ष रतन थापा पुनः अध्यक्षमा दोहोरिने बताइएको छ। उनी बाहेक उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेका छन्।
एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट र कैलाली इन्चार्ज नरदमुनि रानाले यसअघि नै सहमतिको आधारमा नेतृत्व चयन गर्न सुझाव दिइरहेका थिए। तर, अहिलेसम्म अध्यक्षमा दाबी गरेकाहरूबीच सहमति हुन सकेको छैन । ‘कैलालीमा एमाले बलियो अवस्थामा देखिएको र यसलाई अझ बलियो बनाउन आवश्यक रहेकोले यही नेतृत्वलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी भएको वर्तमान अध्यक्ष रतन थापाले बताए । उनले एकताको भावना अझै बलियो हुन बाँकी रहेको हुँदा आफ्नो नेतृत्वमा जिल्ला कमिटी तयार गर्न आवश्यक रहेको बताए ।
अध्यक्षका अर्का आकांक्षी रणबहादुर चन्द नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् । ‘तीनै तहको निर्वाचन आइरहेका छन् । हामीले कैलालीमा बलियो एमाले बताउन आवश्यक छ ’उनले भने ‘बलियो एमाले बनाउन अहिलेको नेतृत्व सक्षम छैन नेतृत्व परिवर्तन हुनु पर्छ ।’ अर्का अध्यक्षका आकांक्षी डेजी पाण्डे पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । ‘ हामीले दुवै जनाको कार्यकाल हेरिसकेका छौँ, उहाँहरूले त्यति धेरै गर्न सक्नु भएन ’उनले भने, ‘अब मेरो काँधमा जिम्मेवारी आएपछि एमालेलाई सबैको मन जित्ने पार्टी बनाउँछु ।’ कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।