काठमाडौँ। नेकपा माओवादी केन्द्रको सम्पन्न ८औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल निर्वाचित भएका छन्।
सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावमा कृष्णबहादुर महराले समर्थन जनाएका थिए। हललाई सम्बोधन गर्दै दिनानाथ शर्माले दाहाल सर्वसम्मतबाट निर्वाचित भएको घोषणा गरेका थिए।
नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणसँगै नेता श्रेष्ठले दाहाललाई अध्यक्षमा नाम प्रस्ताव गरेका थिए। आइतबार भने दाहालले नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली पढेर सुनाएसँगै आठौं महाधिवेशन सम्पन्न भएको हो । यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन्।
अध्यक्षमा निर्वाचित भएपछि उनले आफूले महत्वपूर्ण अवस्थामा पार्टीको नेतृत्व गर्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्। पदाधिकारीका अरु पदमा भने टुंगो लागेको छैन । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।


