काठमाडौँ । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ।
माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । आजमात्र संशोधन सहित पारित भएको पार्टीको विधान अनुसार केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट सदस्यहरू चुनिनेछन्। महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ।
पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ। ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ। उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ । यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ । सहमति नभएमा मतदानमा जाने अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा बताइसकेका छन् ।


