काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्लास्तरीय ४ जना नेतालाई कारबाही गरेको छ। शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले पार्टी हितविपरितको गतिविधि गरेको भन्दै काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षसहित ४ जनालाई कारबाही गरेको हो।
जिल्ला कार्य समितिको सिफारिस अनुसार पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा, सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरिएको राप्रपा महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरु एमाले प्रवेश गर्न लागेपछि कारबाहीको घोषणा गरिएको एक नेताले बताए।
यसैबीच राप्रपाले पार्टीमा सामाजिक धार्मिक अभियन्ता अभिषेक जोशी, पूर्व बरिष्ठ प्रहरी उपरिक्षक दिपक रन्जित, कृषि उद्यमी तथा कृषि समुहका अध्यक्ष तेज बिक्रम थापा, बुद्ध धर्मका गुरु लाक्पा तामाङ, साधना कला केन्द्रका अध्यक्ष संगितकार मिलन मोक्तान, धार्मिक, सामाजिक अभियन्ता अमर परियार, नेपालका लागि नेपाली पार्टीका केन्द्रीय सचिव सुर्दशन थापा, धार्मिक बिभाग प्रमुख दिपक सुवेदी, महिला संगठन अध्यक्ष हुमा पाण्डे, शिव सेना नेपालका केन्द्रीय सदस्य कुमार बस्नेत, राष्ट्रवादी विकासशील अभियान नेपालका संयोजक कमलराज श्रेष्ठ लगायत विभिन्न क्षेत्रका १४३ जना महत्वपूर्ण व्यक्तित्वलाई राप्रपामा स्वागत गरेको । उनीहरुलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने निर्णय भएको राप्रपाले जनाएको छ। राप्रपाले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन पनि माग गरेको छ ।


