कैलाली। कैलाली जिल्लामा पर्यटन सम्भावना बोकेका थुप्रै ताल ओझेलमा छन। त्यसैमध्येका दुई ताल हुन् लट्ठहुवा र कमल पोखरी। जिल्लाको कैलारी गाउँपालिकामा रहेको यी दुवै ठूला प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन्।
पर्याप्त मात्रामा प्रचारप्रसार र व्यवस्थापन हुन नसक्दा दुवै ताल ओझेलमा परेका हुन्। लट्ठहुवा ताल वडा नम्बर १ स्थित मंझरा र कमल पोखरी वडा नम्बर ३ को भडरीमा पर्छ। कैलारीकै वडा नम्बर ९ मा रहेको कोइलही तालमा आन्तरिक पर्यटकको आवागमन भइरहे पनि सोही गाउँपालिकाकै यी दुई ठूला ताल भने सुनसान देखिन्छन्।
दुवै ताल ‘भर्जिन’ स्थलको रुपमा रहेको छन्। ओझेलमा रहेको दुवै ताल सुनसान छन्। करिब २४ बिघा क्षेत्रफलमा फैलिएको लट्ठहुवा प्राकृतिक ताल हो। बसन्ता कोरीडोरमा पर्ने यो ताल ठूलो सिमसारको रुपमा पनि रहेको छ। यद्यपि, पर्यटनका लागि व्यवस्थित भने छैन। ‘हामीसंग पर्याप्त मात्रामा स्रोत साधन नभएका कारणले पर्यटनका लागि व्यवस्थापन गर्न सकेका छैनौं’, वडा नम्बर १ का वडा अध्यक्ष बालकृष्ण चौधरीले भने–‘तर, तालको संरक्षण गरिरहेका छौं।’नजिकै वनदेवी मन्दिर रहेकाले लट्ठहुवा तालमा आन्तरिक पर्यटकको घुइँचो लाग्न सक्ने सम्भावना छ । वनदेवी मन्दिरमा माघी, गङ्गा दशहरा लगायतको बेलामा मानिसहरुको ठूलो चहल पहल हुने गर्दछ।
त्यसैले सो समयमा धेरै आन्तरिक पर्यटक आउन सक्ने वडा अध्यक्ष चौधरी बताउँछन्। ताललाई व्यवस्थित गरेर व्यावसायिक रुपमा डुङ्गा सञ्चालन गरेमा घुम्न आउनेहरुको ओइरो लाग्ने वडा अध्यक्ष चौधरीले बताए। ‘मन्दिरको दर्शन गर्न आउने नै ताल घुम्न आउन सक्नछन्’, उनले भने–‘तर, अहिलेसम्म व्यवस्थापन गर्न नसकिंदा पर्यटक छैनन्।’ पर्यटकको पर्खाइमा रहेको यो तालमा हाल व्यावसायिक रुपमा माछा पालनाको कार्य भइरहेको छ।माछा पालनका लागि सो ताल ठेक्का दिइएको छ। यसैगरी, यो तालको पानीले मंझरा गाउँका किसानले खेतीपाती सिँचाइ गर्दै आएका छन्। गाउँपालिकाको केन्द्रविन्दु र सबैको पायक पर्ने ठाउँमा रहेको कमल पोखरी ताल कृत्रिम हो।जङ्गलबाट बगेर आइ पोखरीमा जम्मा भएको पानीले उनीहरु खेतीपातीको काम गरेको बताइएको छ।
झन्डै ३५ बिघाको उक्त तालले मुलुकमा चलेको १० वर्षे द्वन्द्वको बेला संरक्षण पाएन।संरक्षण अभावमा पुरिदैं हाल करिब १६ बिघा क्षेत्रफलमा खुम्चिएको छ।वडा नम्बर ३ मा कमल पोखरी ताल प्रमुख पर्यटकीय क्षेत्र रहे पनि अहिलेसम्म ओझेलमा रहेको सो वडाका वडा अध्यक्ष कैलाश चौधरीले बताए। ‘यो तालको प्रचार प्रसार हुन सकेको छैन’, उनले भने–‘यद्यपि, गाउँपालिकाको कार्यालयले कमल पोखरी, लट्ठहुवा ताल र वनदेवी मन्दिरलाई समेटेर पर्यटन विकासको पहल गरिरहेको छ।’ पछिल्लो समय तालमा पर्यटकका लागि चाहिने आवश्यक संरचना निर्माणको कार्य भइरहेको छ। गाउँपालिकाको कार्यालयले १२ वर्षका लागि धनगढीका राजु चन्दलाई ताल ठेक्का दिएको छ। ‘वार्षिक १७ लाख रुपैयाँ तिर्ने गरी ठेक्का सम्झौता भएपछि मैले पर्यटन विकासका लागि संरचना निर्माणको काम थालेको छु’, चन्दले भने।
उनले माछा उत्पादन, बङ्गुर र हाँस पालनसंगै पर्यटकीय गन्तव्य बनाउने गरी काम गर्ने गाउँपालिकाको कार्यालयसंग सम्झौता भएको जनाए। कैलारी गाउँपालिकाभरि ठूलासाना गरी ४९ वटा ताल रहेका छन्। जसमध्ये प्राकृतिक ताल बढी छन्। प्राकृतिक र धार्मिक विषयवस्तुसंग जोडेर पर्यटन विकासका लागि गुरुयोजना अनुसार काम हुने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउँछन्। ‘गाउँपालिकालाई साँस्कृतिक र कृषि हवको रुपमा अगाडि बढाउने र पर्यटन विकासका लागि अगाडि बढेका छौं’, उनले भने।पर्यटकको पर्खाइमा रहेको तालहरुको प्रचार प्रसार गर्नेदेखि लिएर तालको आसपासमा बाल उद्यान, मिनी पार्क निर्माण गरिने अध्यक्ष चौधरीले बताए।उनले पर्यटकले फिसिङ गर्न सक्ने गरी पर्यटकीय क्षेत्र बनाउने बताए।थारु जातिको बाहुल्यता रहेको कैलारी गाउँपालिकामा दुई वटा होमस्टेसमेत सञ्चालनमा रहेका छन्।


