दार्चुला। दार्चुला जिल्लामा १४ हजार भन्दा बढि बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइएको छ। दार्चुलामा गत सोमबारदेखि १२ वर्षदेखि माथिका १४ हजार ५ सय ३७ जना बालबालिकाहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप दिइएको हो।
सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै दार्चुलामा पनि गत सोमबार ५ गतेबाट सुरु भएको खोप कार्यक्रम मार्फत जिल्लाका १४ हजार ५ सय ३७ जना विद्यार्थीलाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। २ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सुरु भएको अभियान पुस ९ गते सम्पन्न भएको कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार हालसम्म सबैभन्दा बढि महाकाली नगरपालिकामा ३ हजार २७० जना, यस्तै सबै भन्दा कम लेकम गाउँपालिकामा ५८७ जना,शैल्यशिखर नगरपालिकामा ३ हजार २ सय १० जना,नौगाड गाउँपालिकामा २ हजार ५सय २० जना, दुहुँ गाउँपालिकामा १ हजार २० जना, व्यासँ गाउँपालिकामा ९२८जना ,मार्मा गाउँपालिकामा ८६० जना,अपि हिमाल गाउँपालिकामा ८०५ जनाले खोप पाएका छन् ।
यस्तै मालिकार्जुन गाउँपालिकामा १ हजार ३ सय ३७ जनागरी १४ हजार ५ सय ३७ जना विदार्थीलाई मोडर्ना खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । दार्चुलामा २१ हजार बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य कार्यालयको भएपनि खोप अभावका कारण लक्ष्यमा पुग्न नसकेको बताइएको छ। जिल्लाभरी १३६ वटा खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन भएको कार्यालयका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिए। मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ।


