अछाम। अछामको चौरपाटी गाउँपालिकामा ‘कुटेको चामल, फलेको कोदो’ अभियान सञ्चालन भइरहेको छ। सो अभियान अन्तरगत २२ क्विन्टल कोदो संकलन भएको गाउँपालिकाले जनाएको छ । अछाम चौरपाटी गाउँपालिका
वडा नम्बर १ सुउडीस्थित गैरीलेख सहकारी भवनमा पाँच सय ९३ किलो र महिला सहकारी भवन चौखुट्टेमा १६ सय चार किलो गरी करिब २२ क्विन्टल कोदो संकलन भएको गाउँपालिका कृर्षि शाखा प्रमुख झप्पर भुलले जानकारी दिए। मंसिर २६ गते देखि कोदो संकलन अभियान सुरू भएको हो । गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उदेश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए ।
उत्पादन वृद्धि तथा जग्गा बाँझो नरहोस् भनेर गत वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ अभियान नीति तथा कार्यक्रममै समावेश गरेको उनले जानकारी दिए । वैदेशिक रोजगारी र तिव्र शहरीकरणका कारण कोदोको उत्पादन घटेको र जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उनको भनाईइ छ । फलेको कोदो बराबर चामल पाएपछि गाउँपालिकाका किसान खुसी भएको अध्यक्ष साउदले बताउनुभयो । किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेको अध्यक्ष साउदले जानकारी दिएका छन्।
अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोदो महंगोमा किनेर खान थालेका छन्। यहाँ उत्पादन भएको कोदो धनगढी, नेपालगञ्जमा निर्यात हुने गरेको अध्यक्ष साउदको भनाई छ। आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा खुसी लागेको स्थानीय लालबहादुर थापाले जानकारी दिए। भात खान पाँच घण्टा हिंडेर चौखुट्टेबाट चामल बोकेर ल्याउने यहाँका किसानले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा अझै मेहेनत गर्ने जाँगर पलाएको बताएका छन् । कोदो विश्वको प्रमुख अन्न बाली हो । तर, पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि यसको महत्त्व थाहा पाएका सहरवासीहरू भने महंगोमा किनेर खान थालेका छन् ।

