धनगढी। नेकपा एमाले सचिव लेखराज भट्टले सरकारका गलत क्रियाकलापका बारेमा मिडिया जगत मौन बसेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले नेकपा एमालेको १० औं अधिवेशनमा निर्वाचित भएका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । ‘अहिले मिडिया जगतले पनि खासै केही बोलेको देखिन्न, सायद यो सरकारले गरिरहेको काम–कारवाही मिडियालाई पनि मन परेको छैन,’ भट्टले भने,’ यसलाई पनि मैले सकारात्मक रुमपा लिएको छु।
सरकारले गरेको काम मिडियालाई पनि मन परेको छैन, त्यसैले होला मिडियाले पनि बोल्न लेख्न छोडे ।’ उनले केपी ओली सरकारका बिरुद्द मिडियाले समेत घेराबन्दी गरेको भन्दै अहिले मिडियाले लेख्न छोडेको प्रती ब्यँग्य गरे । सचिब भट्टले प्रेस चौतारी निकट पत्रकारहरुले पार्टीलाई सही सुझाब दिनुपर्ने बताए । उनले भने– ‘पत्रकारहरुले पार्टीलाई सुझाब पनि दिनुपर्दछ, गलत कार्यको बिरोध पनि गर्नुपर्दछ ।’
सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुद एकताबद्ध बनाउने भनेर सबैले लाग्न आवश्यक रहेको बताए । अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाई छ । यसैगरी कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले केपी शर्मा ओलीको कोटको खोल्तीबाट कोही पनि मान्छे केन्दीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी नभएको बताए । अहिले ओलीको कोटको खोल्तीबाट कमिटी बनाएको भनेर गरिएको प्रचारप्रसार साँचो नरहेको उनले बताए। कार्यक्रमलाई पार्टीका पोलिटब्युरो सदस्य नारदमुनी राना, लीला भण्डारी लगायतले सम्बोधन गरेका थिए । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका इन्चार्ज हेमन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सह इन्चार्ज गोबिन्द रोस्याराले गरेका थिए । कार्यक्रमको सञ्चालन प्रदेश महासचिब शिवराज भट्टले गरेका हुन् ।


