कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी, बेलौरी, पूनर्वास, लालझाडी, शुक्लाफाँटा लगायतका पालिकाहरुमा नेपाल किसानले नगदे बालीमा रुपमा उखु खेती गरिरहेको छन्। त्यहाँका किसानलाई उखु काट्ने अहिले चटारो छ।
कञ्चनपुर शिवनगरमा रहेको महाकाली सुगर ईण्डष्ट्रिज प्राली र पुनर्वासमा रहेको सुगर मिलका लागि किसानले प्रसस्त उखु उत्पादन गरेका छन्। तर पनि नेपालमा उखुको उत्पादन हुँदाहुँदै भारतबाट उखु तस्करी भईरहेको छ। भारतबाट उखु समेत तस्करी हुन थालेपछि नेपाली किसान मारमा परेका छन। कञ्चनपुरका दुई चिनी उद्योगले चिनी उत्पादनका लागि यस बर्ष मंसिरदेखि उखु खरिद गर्न थालेपछि भारतबाट उखु तस्करी भईरहेको हो।
सरोकारवाला निकायकै मिलोमतोमा भारतबाट उखु तस्करी भएर नेपाली उद्योगमा बिक्रि वितरण भईरहेको छ। स्थानीय किसानले आफ्नो उखु खरिदका लागि चिनिमिलले आलटाल गरेपनि भारतबाट तस्करी भएर आउने उखु खरिद गरिरहेको आरोप लगाएका छन। बेलडाँडीका स्थानीय उखु किसान पदम रानाले भारतबाट उखु तस्करी भएर चिनीमिलमा आउन थालेपछी नेपाल किसान मारमा परेको गुनासो गरेका छन्। उनले भारतबाट आउने उखुमा सीमा क्षेत्रमा खटिने प्रहरीदेखि चिनीमिलकै मिलोमतो हुने दावि गरे।
‘सीमाबाट धमाधाम उखु नेपाल भित्रिन्छन, ‘उनले भने, ‘भारतबाट उखु तस्करी भएर नेपाल आउँदा हाम्रो उखु खरिदमा आलटाल गर्छन।’बेलौरीका किसान प्रेम चौधरीले सीमा क्षेत्रबाटै सेटिङ्ग गरेर रातीका समयमा टक्टरमा नेपाली किसानको पर्चीमा बेचिरहेको बताए। ‘सबैतिर मिलोमतो छ, भारतबाट लाखौँ क्विन्टल उखु नेपाल भित्रिरहेको छ, ‘उनले भने, ‘कसैले पनि नियन्त्रणका लागि चासो दिदैनन, दिउँन पनि कसरी सबै मिलेका छन।’ भारतबाट उखु तस्करी हुन थालेपछि नेपाली किसानले चिनीमिलमा बेच्न लागेको उखु सडकमै थन्किएको छ। भारतबाट तस्करी भएर उखु भित्रिन थालेपछि जनता समाजवादी पार्टीले चाँसो दिएको छ।
जनता समाजवादी पाटी नेपाल कञ्चनपुर क्षेत्र नम्बर १ ले भारतबाट तस्करी भएर नेपाल भित्रिने उखु रोक्नुपर्ने माग अघि सारेर महाकाली सुगर ईण्डष्ट्रिज प्राली सहितका चार सरकारी निकायमा ज्ञापन पत्र बुझाएको छ। जसपा कञ्चनपुरका नेता एव केन्द्रीय अनुशासन सदस्य अमर सिह विष्टले भारतबाट उखु तस्करी हुँदा नेपाल किसान मारमा पर्दै गएपछि पार्टीले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको बताए। उनका अनुसार बेलौरी नगरपालिका, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल (बोओपी) लाई समेत किसान यूनियनलाई ज्ञापन पत्र बुझाएको छ। ‘हामीले भारतबाट अवैध रुपमा आउने उखु रोक्नका लागि प्रहरी, सशस्त्र प्रहरी सहित उद्योग, किसान यूनियन र स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छौँ, ‘उनले भने, ‘भारतबाट आउने उखुमा सबैले अनविज्ञता प्रकट गरेका छन।’


