काठमाडौं । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन्।आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए ।
०७० को भएको संविधानसभा निर्वाचनमा पाँचथरको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएर काम गरेका थिए । हाल उनी कांग्रेसको अनुशासन आयोगका संयोजक हुन् । राजनीतिक घरानाका नेता आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका भएका थिए।
पराजित लामा सिन्धुपाल्चोकका पूर्वजिल्ला सभापति हुन्। निर्वाचन समितिले मत परिणाम औपचापरिक रुपमा भने सार्वजनिक गरेको छैन । शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका लामाबीच एक सहमहामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो ।


